विदेशी विनिमय सञ्चिति ३९ खर्ब ४६ अर्ब रुपैयाँ पुग्यो, २१ महिनाको वस्तु आयात धान्ने
काठमाडौं, २ असोज । चालु आर्थिक वर्ष साउनसम्म कुल विदेशी विनिमय सञ्चिति ३९ खर्ब ४६ अर्ब रुपैयाँ पुगेको छ । यो संचित रकमले २१ महिनाको वस्तु आयात धान्ने छ ।
२०८३ असार मसान्तमा ३८ खर्ब ९७ अर्ब ६७ करोड बराबर रहेको राष्ट्र बैंकले जनाएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८३ असार मसान्तमा २५ अर्ब ३१ करोड रहेकोमा २०८३ साउन सकिँदा २.१ प्रतिशत वृद्धि भई २५ अर्ब ८४ करोड पुगेको छ । यो बचत गत असारको तुलनामा १.२ प्रतिशत धेरै हो ।
२०८३ साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.८ प्रतिशत छ । चालु आव पहिलो महिनाको आयात आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.८ महिनाको वस्तु आयात र १८.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने केन्द्रीय बैंकले जनाएको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा २०८३ असार मसान्तमा ३४ खर्ब ७३ अर्ब १९ करोड थियो । साउन मसान्तमा १.३ प्रतिशत वृद्धि भई ३५ खर्ब १७ अर्ब ९९ करोड पुगेको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग विदेशी विनिमय सञ्चिति २०८३ असार मसान्तमा ४ खर्ब २४ अर्ब ४८ करोड थियो । साउन मसान्तमा ०.९ प्रतिशत वृद्धि भई ४ खर्ब २८ अर्ब २२ करोड कायम भएको छ ।
साउन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ उत्पादन (जीडीपी), कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपात क्रमशः ५९.८, १ सय ५७ र ४४.५ प्रतिशत छन् । असार मसान्तमा क्रमशः ५९.१, १६३.४ र ४३.८ प्रतिशत थियो । यसबाट नेपालको विदेशी विनिमय सञ्चिति सूचांक सवल देखिन्छ ।







प्रतिक्रिया दिनुहोस्