प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

काठमाडौं, ३० भदौ। संघिय संसदको प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ ।

दिउँसो १२ बजे सिंहदरबारस्थित कार्यव्यवस्था हलमा बैठक बस्न लागेको हो । जहाँ ‘डिजिटल संसद्’सँग सम्बन्धित विषयमा छलफल हुने कार्यसूची रहेको कार्यव्यवस्था परामर्श समिति सदस्य डा। राम लामाले जानकारी दिए ।

शून्य समय, आकस्मिक समय र विशेष समयमा सांसदहरूले उठाएका जनसरोकारका विषयलाई डिजिटल प्रणालीमार्फत सम्बन्धित मन्त्रालय तथा निकायसँग जोड्न सकिने अवधारणाबारे छलफल हुँदै आएको छ ।

सांसदहरूले उठाएका विषयमा सरकारले के निर्णय गर्‍यो, कति प्रगति भयो र कहिले सम्बोधन भयो भन्ने कुरा र्ट्याक गर्न सकिने प्रणाली विकास गर्ने सन्दर्भमा छलफल हुन लागेको हो ।

आज प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ । त्यसअगाडि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको हो ।

आजको बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ ।

साथै, एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्नेसम्बन्धी सम्मिलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गर्ने कार्यसूची छ ।

 

प्रतिक्रिया दिनुहोस्