बाढीप्रभावित क्षेत्रमा सडक र पुल निर्माणलाई प्राथमिकता दिन स्थानीय जनप्रतिनिधिहरुको प्रधानमन्त्रीलाई आग्रह
काठमाडौं, २९ भदौं । रसुवा बाढीप्रभावित क्षेत्रमा सडक र पुल निर्माणलाई प्राथमिकता दिन स्थानीय तहका जनप्रतिनिधिहरुकोले सरकारसंग माग गरेका छन् ।
सोमवार सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र साहसँग भएको भेटमा बाढी प्रभावित क्षेत्रका प्रतिनिधिहरुले प्रभावित क्षेत्रमा तत्काल वैकल्पिक सडक तथा बेलीब्रिज निर्माणलाई प्राथमिकता दिन सरकारसँग माग गरेका हुन् । नुवाकोटको विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठले बाढीका कारण त्रिशूली नदी आसपासका अधिकांश पुल बग्दा नगरपालिकाका प्रभावित बस्तीको आवागमन कठिन बनेको बताए ।
पुल तथा सडक बगेपछि राहत, उद्धार र पुनःस्थापनाको काम नै कठिन भएको उनले बताए । उनले तत्काल बेली ब्रिज र वैकल्पिक सडक निर्माण गर्नुपर्नेमा जोड दिए । उनले स्थानिय जनप्रतिनिधिको माग सम्बोधन गर्न सरकार तयार रहेको प्रधानमन्त्रीले प्रतिवद्धता जनाएको पनि बताए । उनकाअनुसार पूर्वाधार निर्माणसँगै जनताको पुनर्वासका विषयमा बजेटको कुनै चिन्ता नगर्न प्रधानमन्त्रीले आश्वासन दिए ।
उनले भने, ‘अहिले रोड कनेक्टिभिटीको ठूलो समस्या भएको छ, हाम्रो त्रिशूलीका लगभग सबै पुलहरू बगाएको अवस्था छ । त्रिशूलीपारी पनि पाँच–सात वटा वडा छन् । अहिले विदुर नगरपालिकाको हिसाबले हेर्दा बेलकोटगढी नगरपालिका पनि प्रभावित भएको छ । समग्र रूपमा रसुवादेखि यहाँसम्म भएका घटनाबाट प्रभावित सबै क्षेत्रमा कनेक्टिभिटीको समस्या देखिएको छ ।
कनेक्टिभिटीको अवस्था हेर्दा, जुन ठाउँमा सामान्य अवस्थामा दुई–तीन घण्टा, रसुवाको हकमा तीन–चार घण्टामा पुगिन्थ्यो, अहिले त्यही ठाउँमा १५–२० घण्टासम्म लाग्ने अवस्था छ । वैकल्पिक मार्गबाट अत्यन्तै असहज र कठिन परिस्थितिमा पुग्नुपर्ने तथा राहत सामग्री पुर्याउनुपर्ने अवस्था छ । हाम्रै विदुर नगरपालिका तुलनात्मक रूपमा केही सुगम मानिए पनि १० वटा वडा क्षतिग्रस्त भएका छन् र जम्मा तीन वटा वडा मात्र बाँकी छन् । त्रिशूलीपारिका क्षेत्रको अवस्था त झन् कर्णालीजस्तै भएको छ । त्यहाँका पुलहरू पनि लगभग सबै ध्वस्त भएका छन् । हामीले कनेक्टिभिटी, वैकल्पिक मार्गलगायतका विषयमा सबै कुरा प्रस्तुत गरिसकेपछि उहाँहरूले ‘बजेटका लागि तपाईंहरूले चिन्ता गर्नुपर्दैन’ भन्नुभएको छ ।
अहिले तत्काल के–कस्ता पूर्वाधार निर्माण गर्न सकिन्छ, जनतालाई प्रत्यक्ष रूपमा कसरी राहत दिन सकिन्छ भन्ने विषयमा छलफल भएको छ । त्यसैगरी, अहिले तत्कालको पुनःस्थापनासँगै पुनर्वासको विषय पनि महत्वपूर्ण छ । दीर्घकालीन रूपमा जीविकोपार्जनको सुनिश्चिततासहित प्रभावित नागरिकलाई पुनःस्थापित गर्नुपर्ने विषयमा पनि छलफल भएको हो ।’
नगर प्रमुख श्रेष्ठले पुनर्वासलाई केवल अस्थायी आवासमा सिमित नगरी रोजगारी र जीविकोपार्जनसँग जोड्नुपर्ने बताए। बस्ती स्थानान्तरणका लागि सुरक्षित स्थान पहिचान, जग्गा व्यवस्थापन तथा आवश्यक परे वन क्षेत्रसँग प्रभावितको जग्गा सट्टापट्टा गर्ने कानुनी व्यवस्था आवश्यक रहेको उनको भनाई छ । बाढीबाट विस्थापित बस्तीलाई सुरक्षित स्थानमा पुनःस्थापित गर्दै दीर्घकालीन रूपमा स्मार्ट सिटी, ड्राइ पोर्ट, औद्योगिक क्षेत्र तथा पर्यटन विकाससँग जोड्न सकिने प्रस्ताव समेत आफूहरुले प्रधानमन्त्रीसंग राखेको उनले जानकारी दिए । उनले तीन वटै तहको समन्वयमा हाल काम भइरहेको बताए।
स्थानीय जनप्रतिनिधिको गतिअनुसार संघीय सरकारको प्रशासनिक संयन्त्र चल्न सकेन:
बेलकोटगढी नगरपालिका प्रमुख जगतबहादुर गुरुङले भने विपद्को समयमा स्थानीय जनप्रतिनिधिको गतिअनुसार संघीय सरकारका प्रशासनिक संयन्त्र चल्न नसकेको गुनासो गरे । गल्छी–त्रिशूली–रसुवा–मैलुङ सडक अवरुद्ध भएपछि बेलकोटगढीलगायतका क्षेत्रको आवागमन प्रभावित भएपछि वैकल्पिक सडक निर्माणका लागि पटक–पटक आग्रह गरेपनि तत्काल काम अघि बढ्न नसकेको उनको भनाई छ । उनले आपत्कालीन अवस्थामा स्रोतसाधन परिचालन गरी आवश्यकता भएका क्षेत्रमा तत्काल काम सुरु गर्नुपर्ने बताए ।
विपद्को समयमा नियमित प्रशासनिक प्रक्रियाबाट सर्वेक्षण, लागत अनुमान र बजेट निर्माण गरेर मात्रै काम गर्ने प्रणालीले ढिलाइ हुने उनको भनाई छ । उनले पनि वैकल्पिक सडकलाई पहिलो प्राथमिकता दिनुपर्ने बताए । सडक सम्पर्क नहुँदा बिरामी, सुत्केरी तथा उद्धार आवश्यक परेका नागरिकलाई हेलिकोप्टरमार्फत मात्र सेवा दिन सम्भव नहुने उनको भनाई छ । उनले सडक सम्पर्कबाट विच्छेद हुँदा आफ्नो वडामा केही समय राहतसमेत हेलिकोप्टरबाट पुर्याउनु परेको बताए ।
उनले बाढीबाट विस्थापितको पुनर्वासका जोखिमयुक्त नदी किनारमै गर्न नहुनेमा पनि सरकारलाई सुझाव दिएको बताए। जग्गा भएका प्रभावितलाई उनीहरूको आवश्यकताअनुसार सुरक्षित स्थानमा पुनःस्थापना गर्नुपर्ने उनको भनाई छ । भूमिहीनलाई सुरक्षित स्थान पहिचान गरी संघीय सरकारसँग समन्वय गरेर जग्गा उपलब्ध गराउनुपर्नेमा उनले जोड दिए ।
उनले भने, ‘विपद्को बेलामा हामी जनप्रतिनिधिहरु राहत, उद्धार र पुनस्र्थापनामा जुन किसिमले लाग्यो, त्यसमा हामीलाई संघिय सरकारका प्रशासनिक संयन्त्रबाट सहयोग भएन । विपद्को बेलामा वैकल्पिक सडक सबैभन्दा ठूलो कुरा होइन रु बिरामी पर्लान्, सुत्केरी महिलालाई तुरुन्त अस्पताल लैजानुपर्ने अवस्था आउला । सडक नै नभएपछि सबै ठाउँमा हेलिकप्टरको पहुँच पनि हुँदैन नि १ आपत्कालीन अवस्थामा जनप्रतिनिधिहरूको जुन किसिमको सक्रियता र गति हुनुपर्छ, त्यसअनुसार काम हुन सकेन । पुनर्वासको विषयमा अहिले हामी स्थानीय सरकारले सर्वेक्षण गरिरहेका छौँ । पहिलो कुरा, घर र जग्गा सबै बगाएर विस्थापित भएका सबै व्यक्ति भूमिहीन ९ल्याण्डलेस० हुँदैनन् ।
उहाँहरूको कतै न कतै जग्गा छ भने, उहाँहरूले चाहेको ठाउँमा पुनर्वासको व्यवस्था हामीले गरिदिनुपर्छ । जसको जग्गा नै छैन र जो वास्तवमै भूमिहीन हुनुहुन्छ, उहाँहरूका लागि हामी स्थानीय सरकारले सुरक्षित ठाउँ पहिचान गरेर संघीय सरकारलाई सिफारिस गर्छौँ । त्यसपछि संघीय सरकारबाट आवश्यक प्रक्रिया अघि बढाउने कुरा हुन्छ । अहिले भर्खरको बैठकमा पनि यो विषय उठेको थियो । केही नीतिगत ढिलाइ र अलि लम्बेतान प्रक्रिया छन् भने त्यसलाई सच्याएर भए पनि पुनर्वासको विषयलाई छिटो टुंगोमा पुर्याउने कुरा उहाँहरूले भन्नुभएको छ । प्रभावित नागरिकलाई त्यहीँ असुरक्षित अवस्थामा बसिरहनुपर्ने अवस्था भने हुनुहुँदैन ।’
धादिङको सिद्धलेक गाउँपालिका अध्यक्ष परशुराम खतिवडाले गाउँपालिकाबाट सदरमुकाम धादिङबेँसी जाने वैकल्पिक सडक निर्माण गर्न माग राखेको जानकारी दिए । उनले बाढी प्रभावित किसानका खेतबारीमा समेत ठूलो क्षति गरेकोले प्रभावित किसानलाई क्षतिपूर्ति तथा राहत दिन माग गरेको बताए । गाउँपालिकाका अन्य समस्याबारे लिखित विवरण सरकारलाई बुझाइएको उनको भनाई छ ।
बैठकमा संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरी राष्ट्रिय विपद्को सामना गर्ने विषयमा एकरूपता बनेको उनीहरूको भनाइ छ । राहत वितरणमा रसुवालाई प्राथमिकता दिने निर्णय भएको पनि जनाइएको छ ।





प्रतिक्रिया दिनुहोस्