तीज रौनक आजदेखि सुरु, आज दर खाने तयारी 

काठमाडौं, २८ भदौं । हरितालिका (तीज) आजदेखि सुरु हुँदै छ । व्रतका लागि हिन्दू नारीले आज दर खाने तयारी गरेका छन् । दर खाएसँगै आजदेखि चारदिने तीजपर्व सुरु हुन्छ ।

तीजको पहिलो दिन अर्थात् भाद्र शुक्ल द्वितीयाका दिन आज दर खाइन्छ । माइतीले चेलबेटीलाई बोलाई दर खुवाउने परम्परा छ । दरका रूपमा विशेषगरी दूधबाट बनेका शुद्ध परिकार खाइन्छ । जसले व्रतका दिन आडिलो बनाउँछ ।

दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् प्रा। तोयराज नेपाल बताउँछन् । महिलाहरूले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई पोख्ने पर्वका रूपमा समेत तीजलाई उपयोग गर्ने गरेका छन् । तीजका अवसरमा गीतका माध्यमबाट यस्ता मर्कालाई महिलाहरूले सार्वजनिक गर्दछन् । जन्मघरबाट कर्मघरमा गई बस्दा पाएका दुःख, पीर, मर्कालाई नारीले पोख्ने गरेका छन् ।

आइतबार बेलुकी दर खाएपछि औपचारिक रूपमा सुरु हुने तीजपर्व ऋषि पञ्चमीसम्म मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।

यस वर्ष भदौ ३० गते मंगलबार भगवान् गणेश उत्पत्ति भएको विश्वास गरिने गणेश चौथी पर्व मनाइन्छ । भदौ ३० गते मंगलबार ऋषि पञ्चमी पर्व मनाइने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । गणेश चौथी प्रातःकालमा तिथि परेका दिन मनाइन्छ । ऋषि पञ्चमी भने मध्याह्नकालमा पञ्चमी परेका दिन मनाउनुपर्ने शास्त्रीय विधि छ ।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी शास्त्रीय मत छ । तर, पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाएको वर्णन विभिन्न पुराणमा गरिएको छ ।

पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले नीराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरेको विषय पनि पुराणमा उल्लेख छ ।

यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका ९तीज०को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत रहेको छ ।

हरितालिका ९तीज० पर्वका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा लाखौँ महिलाको लाम लाग्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस्