ब्रिक्स समूह कसैको विरुद्धमा छैन :भारतीय प्रधानमन्त्री मोदी
काठमडौं, २७ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ब्रिक्स समूह कसैको विरुद्धमा नभएको बताएका छन् । नयाँ दिल्लीमा शनिबार सुरु भएको ब्रिक्स शिखर सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै यस्तो उनले यस्तो बताएका हुन् ।
पछिल्लो २० वर्षमा ब्रिक्सले विश्व मञ्चमा महत्वपूर्ण स्थान बनाएको प्रधानमन्त्री मोदीको भनाइ थियो । ‘हामी एक(अर्काको दृष्टिकोणको सम्मान गर्छौं र सहमतिका साथ अघि बढ्छौं,’ उनले भने, ‘अब हाम्रो एकता र सहमतिलाई विश्व मञ्चमा ठोस परिणाममा बदल्ने समय आएको छ ।’
सम्बोधनका क्रममा मोदीले विश्व शासन व्यवस्थामा सुधारका लागि १० सूत्रीय रोडम्याप पनि प्रस्ताव गरेका छन् । उनले विश्वका विभिन्न चुनौती सामना गर्न ग्लोबल साउथ केवल नियम पालना गर्ने पक्ष नभई नियम निर्माण गर्ने पक्ष पनि बन्नुपर्नेमा जोड दिए ।
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा सुधारका लागि अब थप प्रतीक्षा गर्न नसकिने उनको भनाइ थियो । ‘आज ग्लोबल साउथ विश्वव्यापी संकटको पहिलो पंक्तिमा छ, तर निर्णय प्रक्रियामा उसको स्थान पछाडि छ,’ उनले भने, ‘हामीले यो विशेषाधिकारयुक्त पिरामिडलाई साझेदारीको मञ्चमा बदल्नुपर्छ, जहाँ हरेक देशको आवाज र हरेक सदस्यको सहभागिता सुनिश्चित होस् ।’
उद्घाटन समारोहमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, चिनियाँ राष्ट्रपति सी जिनपिङ, इरानी राष्ट्रपति मसुद पेजेस्कियान, दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसा, मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम र इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबियान्तो पनि उपस्थित थिए ।



प्रतिक्रिया दिनुहोस्