ड्रोन हमलापछि अरबले महत्वपूर्ण इस्ट–वेस्ट तेल पाइपलाइन अस्थायी रूपमा बन्द गर्‍यो

काठमाडौं, २७ भदौ । साउदी अरबले ड्रोन हमलापछि आफ्नो महत्वपूर्ण इस्ट–वेस्ट तेल पाइपलाइन अस्थायी रूपमा बन्द गरेको छ।

साउदी अधिकारीका अनुसार ड्रोन हमलामा केही व्यक्ति घाइते भएका छन् भने पाइपलाइनमा समेत क्षति पुगेको छ।

साउदी प्रेस एजेन्सी ९एसपीए०ले ऊर्जा मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै १० सेप्टेम्बरको बिहान इस्ट–वेस्ट पाइपलाइनमा पटक–पटक ड्रोन हमला भएको जनाएको छ। त्यसपछि थप क्षति रोक्न र सुरक्षाका लागि पाइपलाइन अस्थायी रूपमा बन्द गरिएको हो।

साउदी विदेश मन्त्रालयका अनुसार हमलामा मानवीय क्षतिसँगै अन्य क्षतिसमेत भएको छ। क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनःस्थापनाको काम भइरहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले हमलाको कडा निन्दा गर्दै पाइपलाइनलाई लक्षित गर्ने केही ड्रोन इराकी भूमिबाट प्रक्षेपण गरिएको दाबी गरेको छ।

तर, साउदी अरबले तत्काल जवाफी कारबाही नगर्ने जनाएको छ। साउदी विदेश मन्त्रालयका अनुसार इराकका प्रधानमन्त्रीले आफ्नो देशबाट हुने यस्ता हमला रोक्न आवश्यक कदम चाल्न इराकी सरकारलाई समय दिन आग्रह गरेका छन्।

सोही अनुरोधलाई ध्यानमा राख्दै साउदीले तत्काल जवाफी कारबाही नगर्ने र इराकी सरकारका प्रयासलाई समर्थन गर्ने निर्णय गरेको हो।

यद्यपि, साउदी अरबले आफ्नो सार्वभौमसत्ता र सुरक्षाको रक्षा गर्न आवश्यक सबै कदम चाल्ने अधिकार सुरक्षित रहेको स्पष्ट पारेको छ।

इस्ट–वेस्ट पाइपलाइन साउदी अरबको महत्वपूर्ण तेल पाइपलाइन हो। यसले देशको पूर्वी क्षेत्रमा रहेका तेल क्षेत्रलाई पश्चिमी तटसँग जोड्छ।

 

प्रतिक्रिया दिनुहोस्