कांग्रेसका २५ नेताले एकताका कायम राख्न संयुक्त वक्तव्य जारी
काठमाडौं, २६, भदौ। नेपाली कांग्रेसका २५ नेताले एकताका कायम राख्न संयुक्त वक्तव्य जारी गरेका छन् । निवर्तमान सहमहामन्त्री डिना उपाध्यायसहित २५ नेताले पार्टी एकता जोगाउनको लागि सभापति गगन थापालाई आग्रह गरेका हुन् ।
वक्तव्यमा उपाध्यायसहित नेताहरू सुरेन्द्र पाण्डे, श्याम घिमिरे, जीवनबहादुर शाही, रामहरि खतिवडा, नैनसिंह महरलगायतको हस्ताक्षर छ ।
नेपालको राष्ट्रियता र भूराजनीतिक परिस्थिति थप पेचिलो बन्दै गएकै भन्दै राष्ट्रिय एकता, लोकतन्त्र र संविधानको संरक्षणका लागि प्रमुख राजनीतिक शक्तिहरू जिम्मेवार र एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता रहेको अपिलमा उल्लेख छ ।
अपिलमा भनिएको छ, ‘नेपालको हरेक सङ्कटमा एउटा मियो बनेर उभिएर आएकै नेपाली कांग्रेस अहिले आन्तरिक कलहमा रमिलदा त्यसको असर कांग्रेस पार्टीमा मात्रै सीमित छैन, यसले समग्र राष्ट्रिय राजनीतिलाई समेत सही दिशा दिन कठिन बनाइरहेको छ । यस्तो अवस्थामा कांग्रेसभित्रको विवादलाई थप चर्काउने वा पार्टीलाई अझ विभाजित बनाउनेतर्फ अघि बढ्नु राष्ट्र र लोकतन्त्रको हितमा हुँदैन ।’
१५ औँ महाधिवेशनको संघारमा जेजसरी विशेष महाधिवेशन भएपनि तीता–मिठा अनुभव भुलेर एकताबद्ध हुनुपर्ने उल्लेख गरेका छन् ।
अपिलमा भनिएको छ, ‘ती अनुभवबाट पाठ सिक्दै अब विगतका विवाद र मतभेदलाई बोकेर बस्ने होइन, पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्ने सङ्कल्प गर्नुपर्छ। यसका लागि कांग्रेसको सिङ्गो नेतृत्व पङ्क्ति एक ठाउँमा बसेर गहन छलफल गर्न र साझा निष्कर्षमा पुग्न आवश्यक छ।’
सबैले आफ्नो अहङ्कार, आग्रह र व्यक्तिगत स्वार्थ त्याग्दै पार्टीको बृहत् हितलाई केन्द्रमा राखेर निकास खोज्न आग्रह गरेका छन् ।
अपिलमा भनिएको छ, ‘कांग्रेसको बृहत् एकताका लागि वर्तमान पार्टी सभापति गगन थापाको भूमिका विशेष महत्त्वपूर्ण रहनेछ । पार्टी सभापतिका रूपमा आफ्नो जिम्मेवारी निभाउँदै दुवै पक्षबाट जारी गरिएको १५ औँ महाधिवेशनको कार्यतालिका स्थगन गरी यथाशीघ्र पार्टीको सम्पूर्ण एकताको लागि निर्णायक वार्ता प्रारम्भ गर्न हामी विशेष आग्रह गर्दछौँ ।’
कांग्रेसभित्रका सबै पक्षलाई संवाद, सहमति र सहकार्यका माध्यमबाट तत्काल विवाद समाधान गरी पार्टीलाई एक ढिक्का बनाउन र राष्ट्रिय चुनौतीहरूको सामना गर्न सक्ने सबल, एकताबद्ध र शक्तिशाली कांग्रेस निर्माणमा जुट्न अपिल गरेका छन्।



प्रतिक्रिया दिनुहोस्