अब आफ्नो अन्तर्राष्ट्रिय आगमन र प्रस्थानसम्बन्धी यात्रा विवरण नागरिक एपमा

काठमाडौं, २६, भदौ। नेपाली नागरिकले अब आफ्नो अन्तर्राष्ट्रिय आगमन र प्रस्थानसम्बन्धी यात्रा विवरण ९ट्राभल हिस्ट्री० नागरिक एपमार्फत सहजै हेर्न र डाउनलोड गर्न सक्ने भएका छन् ।

अध्यागमन विभागले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार सेवा प्रवाहलाई प्रविधिमैत्री, सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले यो व्यवस्था लागू गरिएको हो । यससँगै यात्रा विवरणका लागि विभागमा व्यक्तिगत रूपमा उपस्थित हुने वा भौतिक निवेदन बुझाउनुपर्ने पुरानो प्रक्रिया हटेको छ ।

विभागका अनुसार विभिन्न व्यक्ति तथा संस्थाले यात्रा विवरण प्राप्त गर्न प्रत्यक्ष निवेदन दिने व्यवस्थाका कारण सेवामा ढिलाइ, कार्यबोझ वृद्धि र अनावश्यक प्रक्रियागत झन्झट हुने गरेको थियो। नयाँ प्रणालीले ती समस्या समाधान हुने अपेक्षा गरिएको छ ।

सेवा प्रयोग गर्न नागरिकले आफ्नो स्मार्टफोनमा रहेको नागरिक एप खोलेर ‘अध्यागमन’ शीर्षकअन्तर्गत ‘भ्रमण विवरण’ विकल्पमा प्रवेश गर्नुपर्नेछ । एपसँग आबद्ध राहदानीका आधारमा विदेश आवतजावतको सम्पूर्ण विवरण हेर्न तथा डाउनलोड गर्न सकिनेछ ।

विभागले नागरिक एपबाट प्राप्त हुने यात्रा विवरणलाई आधिकारिक अभिलेखका रूपमा प्रयोग गर्न सकिने जनाएको छ । साथै, सम्बन्धित व्यक्तिको एपसँग लिंक भएको राहदानीको विवरण मात्र उपलब्ध हुने भएकाले व्यक्तिगत सूचनाको गोपनीयता पनि सुरक्षित रहने उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्