उत्तरगया–बेत्रावतीका बाढीपीडित भन्छन्- ‘राहत उता पुग्यो, यहाँ हामी भोकै छौँ’ ‘के चाहिन्छ ?’ भन्ने प्रश्नको जवाफमा, ‘पानी’
-‘के चाहिन्छ ?’ भन्ने प्रश्नको जवाफ थियो- ‘पानी’
-काठमाडौंमा आश्रय लिएका उत्तरगया–बेत्रावतीका बाढीपीडित भन्छन्- ‘राहत उता पुग्यो, यहाँ हामी भोकै छौँ’
काठमाडौं, २२ भदौ। भदौं १० गते आएको रसुवा भोटेकोशी बाढीले घरबार बिहिन बनाएर उजाडेपछि ज्यान जोगाउन आफ्नो थातथलो छाडेका उत्तरगया–बेत्रावतीका कतिपय बाढिप्रावित परिवार अहिले काठमाडौंमा छन्। कोही आफन्तको घरमा छन्, कोही चिनजानका व्यक्तिको सहारामा। सुरक्षित ठाउँमा आइपुगे पनि उनीहरूको संकट भने सकिएको छैन। उनीहरू बाढीको भेलबाट जोगिए, तर राहतको पहुँचबाट छुटिरहेका छन्। र भोक भोकै परेका छन् । पिउनलाइृ पानी समेत नपाको उनिहरुको गुनासा छ ।
आइतबार बिहान आफन्तको आश्रय लिएर बसेका बाढी प्रभावित परिवारको अवस्थाबारे बाढिप्रभावित शिव लामिछानेसँग भएको भेटमा उनीहरूको पीडाको एउटा यस्तो चित्र बाहिर आयो, जसले विपद्पछिको राहत व्यवस्थापनको अर्को पाटो पर्दाफास गरेको छ ।
लामिछानेका अनुसार उत्तरगया–बेत्रावती क्षेत्रमा १४७ धुरी बाढीबाट प्रभावित भएका छन्। तीमध्ये कतिपय परिवार काठमाडौं आएर आफन्त र सहयोगीहरूको घरमा आश्रय लिएर बसिरहेका छन्।
उनीहरूको अवस्था सुनेपछि प्रश्न गरियो— ‘के चाहिन्छ उहाँहरूलाई ? लामिछानेको जवाफ थियो— ‘पानी।’ एउटा शब्दको त्यो जवाफ छोटो थियो। तर त्यसभित्र विस्थापित परिवारको ठूलो पीडा लुकेको थियो।
‘राहत उता पुग्यो, यहाँ हामी भोकै छौँ’ ?
बाढी प्रभावित क्षेत्रमै राहत सामग्री पुर्याउन सरकार, स्थानीय तह, राजनीतिक दल, सामाजिक संघसंस्था र सहयोगी हातहरू सक्रिय छन्। पानी, खाद्यान्न, लत्ताकपडा र अन्य राहत सामग्री प्रभावित बस्तीमा पुर्याउने काम भइरहेको छ।
तर बाढीबाट विस्थापित भएर काठमाडौंलगायत अन्य ठाउँमा पुगेका परिवारहरूको अवस्था फरक छ। उनीहरू घटनास्थलमा छैनन्। राहत वितरणको केन्द्रमा पनि छैनन्। न आफन्तको घरमा बसिरहेका सबै परिवारको आफ्नै आर्थिक स्रोत छ, न उनीहरूलाई आश्रय दिने परिवारसँग लामो समयसम्म थप सदस्यको खर्च धान्ने क्षमता। यही अवस्थालाई बाढीपीडितको पीडाले यसरी व्यक्त गर्छ ।
‘राहत सामग्री र सरकार सबै उता पुग्यो, यहाँ हामी भोकै छौँ।’ यो गुनासो केवल खानाको अभावको होइन। विस्थापित भएपछि राहत प्रणालीबाट छुट्न पुगेका परिवारको अवस्थाको पनि हो।
काठमाडौंमा रहेका उनीहरूलाई अहिले पिउने पानीदेखि दैनिक खानासम्मको समस्या छ। आफन्तको घरमा आश्रय पाउनु एउटा ठूलो राहत भए पनि परिवारको संख्या बढेपछि पानी, खाना र अन्य दैनिक आवश्यकताको व्यवस्थापन कठिन बन्दै गएको छ।
पानीको मागले उठाएको ठूलो प्रश्नः
विपद् प्रभावित परिवारले ‘पानी’ माग्नु सामान्य कुरा जस्तो लाग्न सक्छ। तर बाढीबाट विस्थापित भएर राजधानीमा आश्रय लिइरहेका परिवारको सन्दर्भमा यो मागले गम्भीर प्रश्न उठाउँछ— राहत आखिर कसलाई र कहाँसम्म पुगिरहेको छ ? विपद् भएको ठाउँमा राहत पुर्याउनु आवश्यक छ। तर आफ्नो गाउँ–घर छाडेर अन्यत्र पुगेका मानिस पनि त्यही विपद्का पीडित हुन्।
उनीहरूको ठेगाना फेरिएको हुन सक्छ, पीडा फेरिएको छैन।
घटनास्थलमा राहत पुगेको भन्दै मात्रै राहत व्यवस्थापनको जिम्मेवारी पूरा हुँदैन। विस्थापित भएर आफन्तकहाँ पुगेका परिवार कहाँ छन्, उनीहरूको अवस्था कस्तो छ र उनीहरूलाई के आवश्यक छ भन्ने खोजी पनि उत्तिकै आवश्यक हुन्छ।
शोकमाथि आर्थिक अभाव
बाढी प्रभावित परिवारको समस्या पानी र खानामा मात्रै सीमित छैन। मधु अधिकारीले सुनाएको अर्को जानकारी झन् पीडादायी छ।
बाढीको त्रासदीमा आफ्ना परिवारका सदस्य गुमाएका कतिपय व्यक्ति अहिले किरियामा बसेका छन्। तर आर्थिक अभावका कारण उनीहरूलाई दशगात्रलगायतका धार्मिक कर्म सम्पन्न गर्नसमेत कठिनाइ भइरहेको छ।
कति परिवारसँग धार्मिक संस्कार पूरा गर्ने क्रममा आवश्यक पर्ने सामान्य खर्चसमेत छैन। घर गुमाउनुको पीडा एउटा छ।
परिवारको सदस्य गुमाउनुको पीडा अर्को। त्यसमाथि आर्थिक अभावका कारण मृतकको अन्तिम संस्कारसँग जोडिएका परम्परागत कर्मसमेत पूरा गर्न नसक्नु पीडित परिवारका लागि अर्को गहिरो चोट बनेको छ।
राहतको सूचीबाहिरका पीडित
विपद्पछि राहत वितरणको एउटा निश्चित केन्द्र हुन्छ। प्रभावित गाउँ, बस्ती वा अस्थायी शिविरलाई राहतको मुख्य आधार बनाइन्छ। तर सबै पीडित शिविरमा बस्दैनन्। कतिपय आफन्तकहाँ जान्छन्। कतिपय चिनजानका मानिसको घरमा पुग्छन्। कतिपय परिवार विभिन्न ठाउँमा छरिन्छन्। र, यहीँबाट उनीहरू राहतको औपचारिक सूचीबाट छुट्ने जोखिम बढ्छ। उत्तरगया–बेत्रावतीबाट काठमाडौं आएका परिवारको अवस्था पनि अहिले यही प्रश्नसँग जोडिएको छ।
उनीहरूलाई ठूलो सहायता मात्रै चाहिएको होइन। दैनिक जीवन चलाउन पानी, खाना र आवश्यक सामग्री चाहिएको छ। कतिपयलाई शोकको समयमा आफ्ना धार्मिक र सांस्कृतिक कर्म पूरा गर्न सहयोग आवश्यक छ।
पीडित जहाँ छन्, राहत पनि त्यहीँ पुग्नुपर्छ
बाढीले मानिसको घर बगाउँछ। सम्पत्ति बगाउँछ। तर त्यसले मानिसलाई एउटा ठाउँबाट अर्को ठाउँमा पनि पुर्याउँछ। त्यसैले विपद्को पीडा घटनास्थलमा मात्रै खोजेर पुग्दैन। पीडित आफ्नो गाउँमा हुन सक्छन्, अस्थायी शिविरमा हुन सक्छन् वा काठमाडौंमा आफन्तको घरमा। तर उनीहरू जहाँ छन्, उनीहरूको आवश्यकता त्यहीँ छ।
शिव लामिछानेसँगको भेटमा आएको ‘पानी’ भन्ने जवाफले अहिले त्यही वास्तविकता सम्झाएको छ। राहतको गाडी बाढी आएको गाउँसम्म पुग्नु महत्त्वपूर्ण छ। तर बाढीबाट विस्थापित भएर अन्यत्र पुगेका मानिससम्म सहयोग पुग्नु पनि उत्तिकै आवश्यक छ। किनकि पीडितको ठेगाना बदलिन सक्छ, तर उसको पीडा बदलिँदैन। पीडा जहाँ छ, राहत पनि त्यहीँ पुग्नुपर्छ। अनीमात्र वास्तविक राहत पाएको आभास हुन्छ । यसले सरकराले यसतर्फ तकाल्ल ध्यान दिन जरुरी छ ।


प्रतिक्रिया दिनुहोस्