नारायणगढ–मुग्लिन सडक खण्ड आज बिहानदेखि आंशिक बन्द हुने
काठमाडौं, २२ भदौ । नारायणगढ–मुग्लिन सडक खण्ड आज बिहानदेखि आंशिक बन्द हुने भएको छ ।
तुइन खोलामा पहिरो रोकथामको काम गर्नुपर्ने भएकाले सवारी आवागमन आंशिक रूपमा रोक्न लागिएको चितवन प्रशासनले जारी गरेको सूचनामा छ ।
प्रशासनले जारी गरेको सूचनामा भनिएको छ, ‘कृष्णभिरमा सडक मर्मत कार्य जारी रहेको समयको सदुपयोग गरी नारायणगढ–मुग्लिन सडकको तुइन खोला परियोजनाको माटो कटान कार्य गरिने छ ।‘
धादिङको कृष्णभिरको सडक मर्मत कार्य सम्पन्न भई सवारी आवागमन सञ्चालन नहुञ्जेलसम्म यो कार्य जारी रहने सूचनामा छ ।
सवारी आंशिक रूपमा बन्द गरेर तुइन खेलामा समय समयमा गइरहने पहिरोको माथिल्लो भागको झर्न सक्ने माटो पन्छाउन लागिएको हो ।
नारायणगढ–मुग्लिन सडक बिहान ८ बजेदेखि ८ः३० बजे, १०ः३० बजेदेखि ११ बजे, दिउँसो १ बजेदेखि १ः३० बजे, ३ः५० देखि ४ बजे र साँझ ६ बजेपछिको समयमा सञ्चालन गरिनेछ ।
तोकिएको बाहेक समयमा उक्त स्थानमा सवारी रोकेर कार्य हुने सूचनामा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्