६४ वर्षीया चण्डिका श्रेष्ठलाई ११ औँ दिनमा जीवितै उद्धार, परिवारमा खुशियाली

काठमाडौँ, २० भदौ। रसुवाको भोटेकोशी नदीमा फसेका आएको ११ औँ दिनमा ६४ वर्षीया चण्डिका श्रेष्ठलाई उद्धारकर्ताले जीवितै फेला पारेका छन्।
्भीषण बाढीले घर बगाएपछि परिवारले चण्डिका श्रेष्ठको माया मारिसकेका थिए। बाढी आएको आठ दिनसम्म अत्तोपत्तो नलागेपछि परिवारले कुशको शव बनाएर उनको काजकिरिया नै सुरु गरिसकेको थियो। तर, मृत्यु संस्कार चलिरहँदा बाढी आएको ११ औँ दिनमा ६४ वर्षीया चण्डिकालाई उद्धारकर्ताले जीवितै फेला पारेका छन्। यसले परिवारमा खुशियाली छाएको छ ।

नुवाकोटको विदुर नगरपालिका–१० की श्रेष्ठलाई सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक सुमन विकको कमान्डमा खटिएको टोलीले उद्धार गरेको हो। बेत्रावती बजारस्थित आनन्द श्रेष्ठको घरबाट उनलाई अर्धअचेत अवस्थामा निकालिएको थियो। उद्धारपछि हेलिकप्टरमार्फत त्रिशूलीस्थित नेपाली सेनाको मैबल ब्यारेकमा प्रारम्भिक उपचार गरेर उनलाई अहिले काठमाडौँको छाउनीस्थित सैनिक अस्पतालमा ल्याइएको छ।

बाढीले चण्डिका र उनका श्रीमान् घरभित्रै रहेको बेला साढे चार तल्लाको घरलाई नै जुरुक्कै उचालेर लगेको थियो। उनका सम्धी रमेशमान श्रेष्ठका अनुसार बाढीले बगाएको घर त्रिशूलीको किनारमा पुगेर अड्किएको थियो। ‘हामीले आठौँ दिनसम्म धेरै खोज्यौँ,’ रमेशमानले भने, ‘कहीँ कतै नभेटेपछि सम्भव छैन भनेर आश मार्‍यौँ।’

चण्डिकाका ज्वाइँले दुई–तीन दिनसम्म बेत्रावती र त्रिशूलीको किनारमा खोजतलास गरेका थिए। तर, वरपर लासहरू गन्हाउन थालेको र मास्कविना जानै नसकिने अवस्था आएपछि उनीहरू निराश भएर फर्किए।
दलदलका कारण उद्धार टोली समेत पुग्न सकेको थिएन। ‘फर्केर आएको भोलिपल्ट वा पर्सिपल्ट परिवारका सबै सल्लाह गरे,’ रमेशमानले थपे, ‘कुश बनाएर काजकिरिया र दाहसंस्कार गर्ने निधो भयो।’ त्यसपछि काठमाडौँको सानो भर्‍याङस्थित घरमा काजकिरिया सुरु गरिएको थियो।

एकातिर परिवार किरियामा बसेको थियो, अर्कोतिर रमेशमानको मनले भने पूर्ण रूपमा हार मानेको थिएन। ‘घरमै हो भने त पानी वा चाउचाउ जे खाएर भए पनि माथिल्लो तल्लामा गएर बसिरहेकी होली,’ उनले आफ्नो मनमा उब्जिएको कुरा सुनाए, ‘एकचोटी फेरि खोजौँ भन्ने मलाई लागिरहेको थियो।’

वडा कार्यालयको प्रक्रिया र परिस्थितिले गर्दा उनीहरूले दाहसंस्कारको काम अघि बढाएका थिए। तर, ११ औँ दिनमा जब चण्डिका जीवितै फेला परेको खबर आयो, परिवारको खुसीको सीमा रहेन। छोरीको फोन र फेसबुकबाट खबर पाएलगत्तै रमेशमान अस्पताल पुगे। अस्पताल पुगे पनि उनले सम्धिनीलाई भेट्न भने पाएका छैनन्।

चिकित्सकले ७२ घण्टासम्म बिरामीलाई भेट्न नदिने भनेपछि उनी बाहिरैबाट हेरेर पर्खिरहेका छन्। अस्पताल परिसरमा चण्डिकाको नाति पनि छ, जो लगातार रोइरहेको छ। ‘नाति रोएर हैरान पारेको छ, केही खाएको पनि छैन,’ रमेशमानले भने, ‘फोटोमा देखेपछि मेरी आमा चाहियो भन्दै जिद्दी गर्‍यो र यहाँ लिएर आएको हुँ।’ अघिल्लो दिनमात्रै नातिले दिनभरि भगवानको भजन गाएको उनले सम्झिए। ‘यो संसारमा भगवान साँच्चै रहेछ जस्तो लाग्यो,’ रमेशमानले भावुक हुँदै भने।

 

प्रतिक्रिया दिनुहोस्