त्रिशुली थ्री-‘ए’ परियोजनाको सुरुङबाट उद्धार अपडेटः दुई जनाको जीवितै उद्धार

काठमाडौं, १८ भदौं। नेपाल विद्युत् प्राधिकरणको त्रिशुली थ्री-‘ए’ परियोजनाको सुरुङबाट उद्धार टोलीले दुई जनाको जीवितै उद्धार गरेको छ ।

सुरुङ भित्र धेरै मानिस जिवित भएको आशंका छ । सुरुमा उद्धार गरिएका सञ्जय साहले भित्र सबैजना जीवित रहेको बताएकाले कति मानिस त्यहाँ छन् भन्ने यकिन नभएको बताइएको छ । विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय साह र सुपरभाइजर कविर महर्जनको १० दिनपछि आज बिहान सुरुङबाट जीवितै उद्धार गर्न सफलता प्राप्त भएको हो ।

त्रिशुली थ्री ए परियोजना प्रमुख आवास ओझाका अनुसार उद्धार टोलीले पावरहाउस पुग्ने सुरुङबाट यी दुई जनाको उद्धार गरेको हो ।

‘यी दुई जनालाई पावरहाउस पुग्ने बाटोमा जीवितै भेटेर उद्धार गरिएको हो, पावरहाउसमा पुग्न बाँकी नै छ,’ उनले भने ।

सुरुङभित्र अँध्यारो हुने हुनाले उनीहरूलाई पावरहाउसको कति दुरीबाट उद्धार गरिएको हो भन्न नसकिने पनि उनले जानकारी दिए ।

सुरुङभित्रबाट जीवितै उद्धार गरिएका सञ्जय साह- सञ्चालनमा रहेको ६० मेगावाटको यो परियोजना बन्द गरी समग्र मर्मत (ओभरहलिङ) को काम भइरहेको थियो । त्यसो हुँदा विद्युत् गृहमा नदीबाट पानी छिर्ने सुरुङ बन्द गरिएको थियो ।

सुरुङभित्र रहेको विद्युत् गृहमा ४२ जना इन्जिनियर तथा कर्मचारीहरू फसेको अनुमान नेपाल विद्युत् प्राधिकरणको छ । त्यसमध्ये सबैभन्दा धेरै मानिसहरू विद्युत गृहमा नै रहेको अनुमान छ ।

सुरुमा उद्धार गरिएका सञ्जय साहले भित्र सबैजना जीवित रहेको बताए पनि कति मानिसहरू रहेको भन्ने नखुलेको पनि आयोजना प्रमुख ओझाले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्