खाना पकाउने ग्यासको मूल्य बढाउने व्यवसायीको निर्णय

काठमाडौं, १८ भदौं। ग्यास व्यवसायीहरुले ढुवानी खर्च बढेको भन्दै खाना पकाउने (एलपी ) ग्यासको मूल्य बढाउने निर्णय गरेका छन् । ग्यास उद्योग संघको आज बसेको वैठकले ग्यासमा प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसा मूल्य बढाएको हो ।

संघका पूर्वअध्यक्ष शिव घिमिरेले बाढी पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएकोले ढुवानी भाडामा अस्वाभाविक खर्च बढेपछि मूल्य बढाउन वाध्य हुनुपरेको बताए ।

उनले मुख्य राजमार्ग अवरुद्ध भएपछि लामो र अप्ठ्यारो वैकल्पिक मार्ग ९बाइपास रोड० प्रयोग गरी ग्यास ओसारपसार गर्नुपरेकाले ग्यासको मूल्य बढाउनुपरेको बताए ।

घिमिरेका अनुसार वैकल्पिक बाटोबाट ग्यास ल्याउँदा प्रतिसिलिन्डर १८० रुपैयाँ ८० पैसासम्म अतिरिक्त खर्च बढेको छ । तर, उपभोक्तालाई धेरै मार नपरोस् भन्ने हेतुले ढुवानी भाडाको अन्तर रकममध्ये प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसा मात्र थप गरेको उनले बताए ।

ग्यासको अन्तर्राष्ट्रिय वा आधारभूत मूल्य नबढेको भए पनि केवल ढुवानी भाडाको भिन्नताका कारण उपभोक्ता मूल्यमा वृद्धि भएको घिमिरेको भनाइ छ ।

ग्यासको मूल्य नेपाल आयल निगम निर्धारण गर्ने परिपाटी छ । यसपटक भने उद्योगीले आफैं छलफल गरेर मूल्य बढाएका हुन् ।

नेपाल आयल निगम स्रोतका अनुसार ग्यास उद्योगीले ५० किलोमिटर भन्दा बढीको ढुवानी भाडा उद्योगीले नै तय गर्न सक्ने कानूनी व्यवस्था छ । त्यसैमा टेकेर मूल्यवृद्धि गरिएको जानकार िदिए । यसले उपभोक्तालाई थप भार परेको छ ।

प्रतिक्रिया दिनुहोस्