शशांक कोइरालाको अध्यक्षतामा कांग्रेस १५ औं महाधिवेशन तयारी समितिको बैठक बस्ने
काठमाडौं, १७ भदौ । नेपाली कांग्रेस १५ औं महाधिवेशन तयारी समितिुको बैठक बस्ने भएको छ।
समिति संयोजक पूर्वमहामन्त्री शशांक कोइरालाको अध्यक्षतामा आज दिउँसो १ बजे सम्पर्क कार्यालय चुनदेवीमा बैठक बस्न लागेको हो।
सचिवालय समन्वय समिति संयोजक रहेका नेता दीपकप्रसाद कुइँकेलका अनुसार बैठकमा तीन एजेन्डामाथि छलफल हुनेछ।
समसामयिक विषय, १५ औं महधिवेशन र विविध विषयमा कुराकानी हुने उनले जानकारी दिए। साउन २९ देखि ३१ गतेसम्म भएको राष्ट्रिय भेलाले शेरबहादुर देउवाकै नेतृत्वमा १५ औं महाधिवेशन गर्ने निर्णय गरेको थियो।
सोअनुसार निवर्तमान सभापति देउवा पक्षले बेग्लै महाधिवेशन तयारी गरेको छ। महाधिवेशन तयारीका लागि कोइरालालाई संयोजकका रूपमा अघि बढाउनेसमेत निर्णय भएको थियो।
यो बैठकमा निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइराला उपस्थित हुने वा नहुने यकिन भइसकेको छैन। यसअघि देउवा समूहले गरेको राष्ट्रिय भेलामा उनीहरू सहभागी थिए।
गत पुसमा भएको विशेष महाधिवेशनमा देउवा र कोइराला पक्षका अधिकांश नेता सहभागी भएका थिएनन्।
गगन थापा नेतृत्वको नेपाली कांग्रेसले असोज १६ देखि १९ गतेसम्म १५ औं महाधिवेशन गर्दैछ।
सोही मिति आसपास हुने गरी संस्थापनइतर समूह ९देउवा समूह० ले पनि महाधिवेशन गर्न लागेको नेताहरूले बताएका छन्।
यसबीच नेता शेखर कोइरालाले मंगलबार सम्पर्क कार्यालय विशालनगरमा पार्टीभित्रका तीन वटा समूहका नेताहरूसँग छलफल गरेका थिए।


प्रतिक्रिया दिनुहोस्