भोटेकोशी  बाढीपीडितका लागि माछापुच्छ्रे बैंकको २ करोड १ लाख सहयोग

काठमाडौं, १५ भदौ । माछापुच्छ्रे बैंकले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

बैंकका अध्यक्ष रोशन केसीले सोमबार अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

भदौ १० गते आएको बाढी र पहिरोका कारण प्रभावित नागरिकको जनजीवन, घर तथा सम्पत्तिमा ठूलो क्षति पुगेको अवस्थामा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको जनाएको छ ।

बैंकले विपत्तिपछि प्रभावित क्षेत्रमा खाद्यान्न, ओढ्ने–ओछ्याउने तथा दैनिक उपभोगका अन्य राहत सामग्री पनि उपलब्ध गराइसकेको जनाएको छ ।

माछापुच्छ्रे बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराएको सहयोगले बाढीपीडित नागरिकको राहत, उद्धार र पुनर्स्थापनामा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

बैंकले यसअघि पनि विभिन्न प्राकृतिक विपद् र सामाजिक संकटका समयमा राहत तथा मानवीय सहयोग गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि विपद्प्रभावित समुदायको साथमा रहने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्