राजेन्द्रलाई टक्कर दिँदै उद्धव, मन्त्री बन्न नदिने राजेन्द्रको खेलको भित्री रहस्य के ?

गंगा बराल: काठमाडौं, १४ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समेत समर्थन पाएपछि वागमति प्रदेशमा सरकारले मंगलबार विश्वासको मत पाएको छ । राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई समर्थन नगर्न भनेर संसदीय दललाई दबाब दिँदा पनि राप्रपाका संसदीय दलका नेता उद्धव थापाले सरकारलाई विश्वासको मत दिने निर्णय गरेका थिए । लिङ्देनले विश्वासको मत दिन नहुन भन्दै अनेक धम्की दिए पनि उनीहरुले टेरेनन् । मंगलबार राप्रपाको समेत समर्थनमा नेकपा एमालेको तर्फबाट मुख्यमन्त्री भएका किरण थापा मगरले विश्वासको मत पाएका छन् । सरकारलाई समर्थन गरेसँगै लिङ्देन आक्रोशित भएका थिए ।

राप्रपा संसदीय दलका नेता थापाले भनें सरकार बन्न असहज भएकाले व्यवहारिक रुपमा समर्थन गरिएको बताए । ‘भन्न त अरु धेरै कुरा पनि भनिएका छन्, हामीलाई आरोप लगाइएका छन् तर हामीले अवस्था सहज बनाइदिएका हौं’ संसदीय दलका नेता थापाले भने ‘ बहुमत सांसदले सरकारलाई समर्थन दिएका हौं, केही सांसदले मानेनन् त्यो बेग्लै कुरा हो ।’ वागमतिमा राप्रपाका १२ जना सांसद रहेका छन् । राप्रपाबाट प्रदेशमा तीनजना मन्त्री भएका छन् । उनीहरुलाई लिङ्देनले सांसद नै नरहने गरी कारबाहीसमेत गरेका छन् ।

यो विषय अदालतसम्म पुगेको छ । लिङ्देनले कुनै पार्टीसँग ‘सेटिङ’ मिलाएकोले नै आफूहरुलाई निर्णय गर्न अवरोध गरेको राप्रपाका सांसदहरुले बताएका छन् । ‘उहाँले अरु कोहीसँग मिलेर चलखेल गर्न खोज्नुभएको भन्ने सुनियो, कसैले उहाँलाई विभिन्न कुराले प्रलोभनमा पारेको हुनसक्छ’ ती सांसदले भने ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले दोहोरो चरित्र देखाएका छन् । सरकारमा जान नहुने कारण के हो भन्ने उनले भनेका छैनन् । राप्रपाबाट तीनजना मन्त्री बनेका छन् । मन्त्रीहरुलाई पनि पार्टीले स्पष्टीकरण सोधेको छ । लिङ्देनले थापामाथि लिएको ‘एक्सन’ लाई लिएर पार्टीका अर्का नेता कमल थापाले भनें आपत्ति जनाएका थिए । राप्रपाले सरकालाई समर्थन गरेपछि त्यही दिन बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकमा कमल थापाले संसदीय दलका नेता थापालाई कारबाही गर्न नहुने अडान लिएका थिए । उद्धव थापा काठमाडौंबाट निर्वाचित प्रदेश सांसद हुन् । उनी पूर्वमन्त्रीसमेत भइसकेका छन् ।

राप्रपाले प्रदेश संरचनाको विरोध गर्दै आएको छ तर पनि प्रदेशमा अवसर पाउँदा भनें लिन पछि परेको छैन । राप्रपाले यसअघि नै कतिपय प्रदेशमा सरकारमा सहभागिता पनि जनाइसकेको छ । यतिमात्रै होइन वागमति प्रदेशमा नै यसअघि राप्रपाका नेता भुवनकुमार पाठक सभामुख रहेका थिए । जेनजी आन्दोलनका क्रममा उनले राजीनामा दिएका थिए । कोशी प्रदेशमा अमरबहादुर विष्ट अहिले पनि सभामुख छन् । पार्टीका धेरैजसो नेताको भनाई एउटै छ ‘कि कतै पनि कहीँ सहभागिता जनाउनु भएन कि प्रदेशलाई आफू अनुकूल निर्णय गर्न दिनुप¥यो ।’ लिङ्देनको कार्यशैलीप्रति पार्टीमा पनि आलोचना भएको छ । उनले पार्टी चलाउन नसकेको भनेर निरन्तर पार्टीभित्रैबाट दबाब आए पनि उनले सहज निकास दिन सकेका छैनन् ।

लिङ्देन संसदको अघिल्लो कार्यकालमा केन्द्रीय सरकारमा उपप्रधानमन्त्रीसहित उर्जामन्त्री भएका थिए । उनको नेतृत्वमा राप्रपा सरकारमा गएको थियो । उर्जामन्त्री हुँदा उनले अकुत पैसा कमाएको पनि पार्टीका असन्तुष्टले भन्दै आएका छन् । ‘भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानुसरह हो’ भनेर आदर्शका कुरा गर्ने उनको बोली र व्यवहारमा भनें धेरै भिन्नता रहेको उनलाई नजिकबाट जान्नेहरु बताउँछन् । त्यतिबेला पनि के आवश्यकताले पार्टी सरकारमा गयो भनेर उनले अहिलेसम्म पनि भन्न सकेका थिएनन् । आफू उपप्रधानमन्त्रीसहित मालदार मन्त्रालय पाउँदा जागिर खान जाने र अरुचाहिँ मन्त्री नै बन्न हुँदैन भन्ने उनको पाराले पार्टीलाई झन् संकटमा पु¥याएको छ । गत फाल्गुणमा भएको संसदीय निर्वाचनमा उनी झापा–३ बाट पराजित भए ।

वागमति प्रदेशमा राप्रपाको समर्थनबिना सरकार निर्माण हुने अवस्था नआएपछि राप्रपाले समर्थन गरेको थियो । पछिल्लो समयमा आफूलाई ठूलो पार्टी हुँ भन्नेहरु नै संकटमा पर्दै गएपछि खुम्चिएर निकै सानो भएको राप्रपामा आएको यो बिबादले पार्टीलाई थप चुनौती देखापरेको छ । राप्रपाका नेता धवलशमशेर राणा पनि राप्रपाबाट बाहिरिइसकेका छन् । यसलाई पार्टीले ठूलो क्षतिको रुपमा बुझ्छ कि बुझ्दैन त्यो भनें लिङ्देनमै भर पर्छ ।

प्रतिक्रिया दिनुहोस्