पृथ्वी राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा, बैरेनीमा लेदो पन्छाउन बाँकी

काठमाडौं, १३ भदौ। चार दिनपछि पृथ्वी राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।

रसुवाको भोटेकोशीमा बुधबार आएको विनाशकारी बाढीले धादिङको बैरेनीदेखि गलौदीसम्मको काठमाडौं(मुग्लिन सडकमा लेदो थुपारेको थियो ।

बाढीले ठाउँठाउँमा थुपारेको लेदो पन्छाएपछि शुक्रबार राति ८ बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगरका प्रमुख डिल्ली नारायण पाण्डेले जानकारी दिए ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बैरेनीमा लेदो पूर्ण रूपमा पन्छाउन बाँकी रहेकोले सडक एकतर्फी सञ्चालनमा आएको उनको भनाइ छ ।

उनले भने, ‘शुक्रबार राति ८ बजेतिर सडक वान वे सञ्चालनमा ल्याएका हौं । बाढीका कारण राजमार्गका ठाउँठाउँमा अलपत्र अवस्थामा रहेका सवारीसाधनलाई प्राथमिकतामा राखेर गन्तव्यतर्फ पठाउने काम गरेका थियौं ।’

सडकमा सवारीको चाप रहेकाले समस्या भएका ठाउँठाउँमा सुरक्षाकर्मी राखेर सहजीकरण गरिएको उनले बताए ।

उनले भने, ‘बैरनी क्षेत्रमा केही समस्या छ । दुई चार घण्टामा उक्त ठाउँको लेदो पन्छाउन त सकिन्छ । तर सडकमा सवारी सञ्चालन गरेर लेदो पन्छाउँदा काम गर्न असहज हुन सक्छ । दुईतर्फी सडक सञ्चालनमा ल्याउने गरी काम गर्ने योजना छ ।’

प्रतिक्रिया दिनुहोस्