इन्धन आयातमा बाहिरिने अर्बौँ रुपैयाँ रोक्न विद्युतीय सवारी साधन प्रयोग बढाउनु पर्छ: उपराष्ट्रपति यादव
काठमाडौं, ९ भदौ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले इन्धन आयातमा बाहिरिने अर्बौँ रुपैयाँ रोक्न विद्युतीय सवारी साधन (ईभी) को प्रयोग बढाउनुपर्ने बताएका छन् ।
१८औँ नाडा अटो शो २०२६ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले विद्युतीय सवारीको प्रयोग नै देशका लागि सबैभन्दा बुद्धिमानी र दिगो उपाय भएको बताएका हुन् ।
नेपाल जलस्रोतमा धनी रहेको र जलविद्युत उत्पादनमा तीव्र गतिमा अघि बढिरहेको सन्दर्भ जोड्दै उनले पेट्रोल र डिजेल जस्ता इन्धन आयातमा हुने निर्भरता घटाउनुपर्ने बताए । ूविद्युतीय सवारी साधनको व्यापक प्रयोगले इन्धन आयातमा हुने निर्भरता घटाई मुलुकको व्यापार घाटा कम गर्न प्रत्यक्ष सहयोग पुर्याउँछ,ू उपराष्ट्रपति यादवले भने, ‘स्वदेशी स्वच्छ ऊर्जाको खपत बढाएर देशकै धन देशमै राख्न र उपभोक्ताको सञ्चालन खर्च कम गराउन ईभीको उपादेयता उच्च छ ।’
वातावरण संरक्षण र आर्थिक समृद्धिबिच सन्तुलन कायम गर्न हरित ऊर्जाको उत्पादन र अधिकतम उपयोग आजको अनिवार्य आवश्यकता भएको उनको भनाइ थियो । कार्बन उत्सर्जन शून्य वा न्यूनतम झारी सहरी क्षेत्रको वायु प्रदूषण नियन्त्रण गर्न र जलवायु परिवर्तनका प्रतिकूल असरसँग लड्न विद्युतीय सवारी प्रविधि निर्णायक साबित हुने उनले विश्वास व्यक्त गरे ।
उपराष्ट्रपति यादवले विद्युतीय सवारी साधनलाई केवल विकल्पका रूपमा मात्र नभई राष्ट्रिय प्राथमिकताका रूपमा विकास गरिनुपर्ने बताए । यसका लागि नीतिगत स्थायित्व र पूर्वाधार निर्माणमा जोड दिँदै उनले चार्जिङ स्टेसन विस्तारमा सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याए ।
उपराष्ट्रपति यादवले अटोमोबाइल क्षेत्र नेपालको राजस्व संकलनको प्रमुख स्रोतमध्ये एक रहेको बताए । यस क्षेत्रले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा धेरै युवालाई रोजगारी, तालिम र प्राविधिक कौशल प्रदान गरी देशमै आत्मनिर्भर बन्ने आधार तयार पारेको उनको भनाइ छ ।
यादवले मुलुकभित्र नै उद्यमशीलता कायम गर्न अटो शो सफल हुने विश्वस समेत व्यक्त गरे ।
शोमा हल्कादेखि हेव्वी गाडी समेत प्रदर्शनीमा राखिएको छ । दुईपांग्रे, चारपांग्रे तथा व्यावसायिक सवारीसाधनका गरी ५३ ब्रान्डका सवराी कम्पनीको सहभागिता रहेको आयोजकले जनाएको छ । छ। ती ब्रान्डले डेढ दर्जनभन्दा बढी नयाँ मोडल सार्वजनिक तथा प्रदर्शन गर्ने तयारी गरेका छन् ।
नाडाले आफ्नो ५० औँ वर्ष पूरा गरेको अवसरमा आयोजना गरेको यसपटकको प्रदर्शनीमा विदेशी ब्रान्डका सवारी मात्र नभई नेपालमै उत्पादन वा एसेम्बल गरिएका सवारी तथा अटोमोबाइल सामग्रीलाई छुट्टै प्राथमिकता दिइएको छ ।
यसपटकको अटो शोको मुख्य आकर्षणमध्ये नेपालमै उत्पादन भएको विद्युतीय स्कुटर ‘यात्री पी–२’ पनि रहेको छ । नेपाली कम्पनीले उत्पादन गरेको सवारीसाधनलाई अन्तर्राष्ट्रिय ब्रान्डका सवारीसँगै एउटै प्रदर्शनीमा राखिनुले नेपाली अटोमोबाइल उद्योगको बदलिँदो अवस्थालाई समेत देखाउने आयोजकको भनाइ छ ।
प्रदर्शनीस्थलमा ‘मेड इन नेपालरमेड फर नेपाल’ प्याभिलियन राखिएको छ । उक्त प्याभिलियनमा नेपालमा उत्पादन वा एसेम्बल भएका सवारीसाधन तथा अटोमोबाइल सामग्री प्रदर्शन गरिनेछ । नाडाका अनुसार करिब आठ नेपाली उत्पादक यस क्षेत्रमा सहभागी छन् ।


प्रतिक्रिया दिनुहोस्