भदौमा ८ वटा आश गरिएका फिल्म प्रदर्शन हुदै

काठमाडौँ । आउँदो भदौ महिनामा फिल्मको बाढी बग्ने भएको छ । भदौको चार हप्तामा कम्तीमा ८ वटा आश गरिएका फिल्म प्रदर्शन हुने पक्का छ । भदौको बाढीले कुन-कुन फिल्मको निर्मातालाई बचाउला र कसलाई बगाउला ? पर्खाइको विषय बनेको छ ।

भदौले पाइला राखेको पहिलो दिन अर्थात् १ गते नै तीन फिल्मको महासंग्राम हुँदैछ । यो मितिमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री आँचल शर्मा स्टारर फिल्म ‘ब्ल्याक’, अभिनेता द्वय प्रशान्त ताम्राकार र अनुप विक्रम शाही अभिनीत फिल्म ‘जय शम्भु’ र गौरव पहारी र मरिष्का पोखरेलको ‘मिस्टर भर्जिन’ रिलिज हुने पक्का छ ।

यसपछि फिल्म ‘नाई नभन्नू ल ५’ ले रिलिजको पालो पाएको छ । यस फिल्मका हरेक सिरिज हिट भएका कारण यो फिल्मप्रति दर्शकको चासो अलि बढी नै छ । विकासराज आचार्य निर्देशित यो फिल्म भदौ ८ गतेबाट प्रदर्शनमा आउने पक्का भइसकेको छ । यसमा प्रियंका कार्की, केकी अधिकारी, स्वस्तिमा खड्का, दीलिप रायमाझी, निरुता सिंहलगायतका कलाकारहरुको अभिनय छ ।

यो मितिमा अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ रिलिज हुने चर्चा चलेपनि अझै उक्त फिल्मको छायांकन नसकिएका कारण तिहारपछि मात्र रिलिज हुने बताइएको छ । यसपछि भदौ १५ मा निर्माता माधव वाग्ले निर्मित तथा दीपेन्द्र के. खनाल निर्देशित फिल्म ‘चङ्गा चेट’ रिलिज हुँदैछ ।

यो फिल्ममा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, परमिता राज्यलक्ष्मी राना, सुरक्षा पन्त, माओत्से गुरुङलगायतका कलाकारहरुकोे अभिनय छ । यही मितिमा निर्माता सन्तोष सेन निर्मित तथा याम थापा निर्देशित फिल्म ‘मेरी मामु’ रिलिज हुने पक्का भइसकेको छ । फिल्मको अहिले धमाधम छायांकन चलिरहेको छ ।

फ्लोरमा नजाँदै फिल्म ‘द ब्रेकअप’ ले पनि भदौ १५ गतेलाई आफ्नो प्रदर्शन मिति तय गरेको थियो । तर फिल्मको आधा छायांकन अझै सकिएको छैन । यो फिल्म तोकिएको मितिमा हलसम्म पुग्छ वा पुग्दैन भन्नेमा अन्योल छ । यसमा आशिरमान देशराज श्रेष्ठ, शिल्पा मास्के, सलोन बस्नेतलगायतका कलाकारको अभिनय छ ।

भदौ १५ को अर्को हप्ता प्रतिक्षीत फिल्म ‘रामकहानी’ ले आफ्नो प्रदर्शन यात्रा सुरु हुँदैछ । भदौ २२ गतेलाई यो फिल्मको प्रदर्शन मिति घोषणा गरिएको छ । सुदर्शन थापा निर्देशित यस फिल्ममा आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा लिड रोलमा छन् । यो मितिमा सलोन बस्नेत र सारा सिर्पाली स्टारर फिल्म ‘सुश्री सम्पत्ति’ पनि रिलिज हुँदैछ । यसका निर्देशक सुव्रत आचार्य हुन् ।

यसरी हेर्दा भदौमा मुसालधारे पानीका कारण शहर-बजारमा बाढीको भेल बगेझैँ हलमा पनि हरेक हप्ता फिल्मको कमी नहुने देखिन्छ । फिल्म जुध्नु नयाँ बहसको विषय होइन । तर, जुधेका फिल्मले गर्ने व्यापार भने चासो बन्न आउँछ ।
त्यसो त हरेक वर्ष भदौमा फिल्म रिलिजको चाप बढी देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्