लघुवित्त ऋणी र सरकारबिच १४ बुँदे सहमति, घर फर्किए लघुवित्त ऋणी

काठमाडौं, ७ भदौ । निरन्तर आन्दोलन र धर्नामा रहेका लघुवित्त ऋणीहरू घर फर्केका छन् । ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय बाहिर धर्नामा बसेका लघुवित्त ऋणीहरू र नेपाल सरकारबिच सहमति भएको छ । सरकारसँग १४ बुँदे सहमति भएपछि धर्ना कार्यक्रम स्थगित गर्दै ऋणीहरू आज आ(आफ्नो घर फर्किएका हुन् र

नेपाल सरकार र ऋणीहरूका प्रतिनिधिबिच हिजो भदौ ६ गते भएको वार्तामा १४ बुँदे सहमति भएको थियो । सहमतिसँगै आन्दोलनका कार्यक्रम स्थगित गरी पीडितहरूलाई घर पठाउने प्रक्रिया सुरु गरिएको हो ।

सहमति पश्चात् आज बिहान ८ः५० बजेदेखि सरकारले साझा यातायातका बसहरूको व्यवस्था गरी ऋणीहरूलाई उनीहरूको गन्तव्यतर्फ पठाएको छ । विभिन्न सरकारी निकायका अधिकारीहरूको उपस्थितिमा ३२३ जना ऋणीहरूलाई ८ वटा बसमार्फत बिदाइ गरिएको छ ।

आन्दोलनका लागि काठमाडौँ आएका झापा, मोरङ, सर्लाही, महोत्तरी, सिन्धुली, बारा, पर्सा र नवलपरासी लगायतका जिल्लाका ऋणीहरूलाई आ(आफ्नो क्षेत्रतर्फ पठाइएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

लघुवित्तको ऋणका कारण समस्यामा परेका सर्वसाधारणले न्यायको माग गर्दै लामो समयदेखि काठमाडौँ केन्द्रित आन्दोलन र धर्ना दिँदै आएका थिए । सरकारसँग भएको पछिल्लो सहमतिले पीडितका समस्या समाधान हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्