होस्टेलमा हत्या : अघिल्लो रात सँगै घुम्न हिँडेका थिए, फर्कर हत्या
काठमाडौं, ५ भदौ । होस्टल हत्या प्रकरणमा एक पछि अर्काे रहस्य खुल्दै गएको छ । शंखमुलस्थित भ्याली ब्वाईज होस्टलमा शुक्रवार बिहान भएको हत्याकाण्डका थप रहस्यहरू बाहिर आएका छन् । कुटपिटबाट मारिएका युवक र आक्रमण गर्ने एक व्यक्ति अघिल्लो रात सँगै बाहिर घुम्न गएको खुलेको छ ।
होस्टेलभित्र भएको कुटपिटमा दाङ, घोराही उपमहानगरपालिका १७ का २२ वर्षीय वसन्त कालाथोकीको मृत्यु भएको थियो । कुटपिटमा संलग्न भएका दुईमध्येका एक युवक कालोथोकीसँगै राति ‘रमाइलो गर्न’ भन्दै होस्टलबाट बाहिर निस्किएका हुन् ।
उनीहरू मध्यरात वा शुक्रवार बिहानै होस्टल प्रवेश गरेको प्रहरीको प्रारम्भिक विश्लेषण छ । कालाथोकीमाथि कुटपिटमा संलग्न बारा जिल्ला कलैया उपमहानगरपालिका ३ घर भएका १८ वर्षीय शेखर यादव र अन्दाजी २० वर्षीय प्रमित पटेल अहिले प्रहरी नियन्त्रणमा छन् ।
मृतक कालाथोकीको निधारमा चोट छ । उक्त चोट धारिलो हतियारको प्रहारबाट भएको प्रारम्भिक अनुमान गरिए पनि घटनास्थलबाट हालसम्म त्यस्तो कुनै हतियार फेला परेको छैन ।
जिल्ला प्रहरी परिसरका एसपी तथा प्रवक्ता दानबहादुर थापाका अनुसार कालाथोकीको निधारमा देखिएको चोट धारिलो हतियारले नभई टी टेबुल उचालेर हानेको पनि हुनसक्ने सम्भावना छ ।
होस्टलमा प्रत्येक कोठामा चार(पाँच जनाका दरले बस्ने गरेका छन् । एउटै कोठामा बस्ने कालाथोकी र अर्का एक युवकमात्रै बिहीबार राति कोठाबाट निस्किएका हुन् । बिहान फर्किनेबित्तिकै उनीहरुबीच कुनै विषयमा विवाद भएको थियो ।
कुटपिटका क्रममा कालाथोकीको निधारबाट रगत बग्न थालेपछि एकजनाले सिभिल अस्पताल पुर्याए । प्रहरी पुग्दा एकजना घटनास्थलमै फेला परेका थिए । अर्कालाई अस्पतालबाट भाग्ने क्रममा नियन्त्रणमा लिइएको हो ।

प्रतिक्रिया दिनुहोस्