गरिमा विकास बैंकको कर्पोरेट कार्यालय समुद्घाटन

काठमाडौं, ३ भदौ । गरिमा विकास बैंक लिमिटेडको कर्पोरेट कार्यालय काठमाडौँको समुद्घाटन भएको छ ।
केन्द्रिीय कार्यालयको सदुद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले विशेष समारोहकासाथ गरेका हुन् । बैंक आजदेखि लाजिम्पाटबाट बालुवाटारस्थित आफ्नै भवनमा सरेको छ।

बैंकको २०औँ वार्षिकोत्सवको अवसरमा आयोजित विशेष समारोहमा गभर्नर पौडेलको प्रमुख आतिथ्यमा नयाँ भवनको समुद्घाटन गरिएको हो। कार्यक्रममा गभर्नर पौडेलले रिबन काटेर भवनको उद्घाटन गरेका थिए।

कायंक्रममा सीईओ माधव प्रसाद उपाध्यायले स्याङ्जाको वालिङबाट वि.सं.२०६४ सालमा तीन जिल्लालाई कार्यक्षेत्र बनाएर स्थापना भएको गरिमा विकास बैंक अहिले राष्ट्रियस्तरको विकास बैंकका रूपमा स्थापित भएको बताउँदै बैंकले स्थापनाको समयमा रु.२ करोड ६५ लाख चुक्ता पुँजीबाट आफ्नो बैंकिङ यात्रा सुरु गरेको जानकारी दिए । उनले हाल बैंकको चुक्ता पुँजी रु. ६ अर्ब २ करोड पुगेको छ। सुरुवाती अवस्थामा करिब १० जना कर्मचारीबाट सञ्चालनमा आएको बैंकमा अहिले १ हजार ५२ जना कर्मचारी कार्यरत रहेको जानकारी दिए ।

उनका अनुसार हाल देशका ३७ जिल्लामा १२६ शाखा तथा १० वटा क्षेत्रीय कार्यालयमार्फत बैंकिङ सेवा प्रदान भइरहेको छ। बैंकले करिब १० लाख सेवाग्राहीलाई सेवा दिइरहेको जनाएको छ। त्यस्तै, बैंकको कुल निक्षेप करिब रु. १ खर्ब र कर्जा लगानी करिब रु. ८५ अर्ब पुगेको छ। विभिन्न विकास बैंकसँगको मर्जर तथा प्राप्तिपछि गरिमा विकास बैंकको शाखा सञ्जाल, ग्राहक आधार र वित्तीय पहुँच थप विस्तार भएको हो। नीलगिरि, सुभेच्छा र सहारा विकास बैंकसँगको मर्जर तथा प्राप्तिले बैंकको व्यवसाय विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याएको बैंकले जनाएको छ।
भवनको कक्षहरु पनि मर्जर भएका विभिन्न वित्तिय संस्थाहरुको नामबाट नामाकरण गरिएको सिइोओ उपाध्यायले बताए ।

यस्तै सो समारोहमा बैंकका अध्यक्ष दिलिप प्रताप खाँडले नवनिर्मित अत्याधुनिक केन्द्रीय कार्यालय भवनबाट बैंकको संस्थागत क्षमता र कार्यसम्पादनलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको बताए। उनले आधुनिक पूर्वाधारसहित निर्माण गरिएको नयाँ भवनबाट बैंकका केन्द्रीयस्तरका विभिन्न विभाग तथा प्रशासनिक कार्यलाई अझ सहज, व्यवस्थित र प्रभावकारी रूपमा सञ्चालन गर्न बैंककिा सेवा विस्तार गरिेने बताए । उनले बैंकका कर्मचारी, ग्राहक, सुभेच्छुका मया विश्वास सहयोगका साथ बैंकले प्रगिति गरेको बताए । यसबाट नै कमाउँदै बाँड्ने विश्वास व्यक्त गरे ।

नयाँ कार्यालय भवनको उद्घाटनसँगै बैंकले सुशासन, पारदर्शिता, उत्तरदायित्व र प्रविधिमैत्री बैंकिङ सेवामा थप जोड दिने प्रतिबद्धता जनाएको छ। ग्राहकको आवश्यकता र बदलिँदो बैंकिङ प्रविधिअनुसार सरल, सहज तथा गुणस्तरीय सेवा उपलब्ध गराउँदै आफ्नो सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने बैंकको लक्ष्य छ।

दुई दशक लामो यात्रामा हासिल गरेको संस्थागत उपलब्धिलाई नयाँ कार्यालय भवनले थप मजबुत बनाउने विश्वास बैंकले व्यक्त गरेको छ। नयाँ पूर्वाधार, विस्तारित शाखा सञ्जाल, दक्ष जनशक्ति तथा प्रविधिको प्रभावकारी प्रयोगमार्फत आगामी दिनमा वित्तीय क्षेत्रमा अझ सशक्त उपस्थिति कायम गर्ने र ग्राहक केन्द्रित बैंकिङ सेवाको दायरालाई थप विस्तार गर्ने उद्देश्यसहित उद्घाटन समारोह सम्पन्न भएको बैंकले जनाएको छ ।

गत वर्षको कात्तिक २७ गते सम्पन्न भएको बैंकको १९औँ वार्षिक साधारणसभाको निर्णय बमोजिम हाल कामपा २, लाजिम्पाटमा रहेको केन्द्रीय कार्यालय कामपा–३ बालुवाटारको नवनिर्मित भवनमा सारिएको हो ।

उद्घाटन समारोहसँगै बैंकको नयाँ कार्यालय परिसरमा निर्माण गरिएको शिव पाञ्चायन देवीदेवताको मन्दिरमा प्राण प्रतिष्ठासमेत सम्पन्न गरिएको थियो। भवन परिसरमा रहेको मन्दिरमा उद्घाटनअघि तीन दिनसम्म पूजाआजा तथा धार्मिक अनुष्ठान गरिएको बैंकले जनाएको छ। समारोहमा बैंकका अध्यक्ष दिलिप प्रताप खाँड, प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय, सञ्चालक समिति सदस्यहरू, बैंकका पदाधिकारी तथा कर्मचारीसहित विभिन्न क्षेत्रका अतिथिहरूको उपस्थिति रहेको थियो।

बुधबारबाट बैंकको सम्पूर्ण कार्यहरू उक्त भवनबाट सञ्चालन सुरु भएको छ । नेपाल राष्ट्र बैंकबाट (ख) वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको विकास बैंकको रूपमा रहेको उक्त बैंक २०६४ सालमा स्थापना भएको हो । यसले देशैभर शाखा सञ्जाल विस्तार गरी आधुनिक प्रविधिमार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्