योजना आयोगसँग निजी क्षेत्रको छलफलः व्यवसायिक वातावरण र सुरक्षाको प्रत्याभूति हुनुपर्नेमा जोड
काठमाडौं, २२ साउन । राष्ट्रिय योजना आयोगसँगको छलफलमा निजी क्षेत्रका प्रतिनिधिले व्यावसायिक सुरक्षाको प्रत्याभूति आवश्यक रहेको बताएका छन् ।
बिहीबार आयोगले राष्ट्रिय विकास समस्या समाधान समितिको पूर्वतयारी बैठक सन्दर्भमा क्षेत्रगत मन्त्रालय र निजी क्षेत्रबीच छलफलमा व्यवसायीहरुले सो कुरा बताएका हुन् । छलफलमा निजी क्षेत्रका प्रतिनिधिले मर्यादित व्यवसायिक वातावरण र सुरक्षाको प्रत्याभूति नहाुँदा व्यवसायीहरु त्रसित हुनु परेको बताएका थिए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासंघ, महिला उद्यमी महासंघलगायत निजी क्षेत्रका छाता संगठनका प्रतिनिधि सहभागी थिए ।
आयोगका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाका अनुसार सार्वजनिक निजी निर्माण, निजी क्षेत्रको लगानी परिचालन, वित्तीय स्रोतको उपयोग र तरलता व्यवस्थापन लगायत विषयमा छलफल भएको छ ।
बैंक तथा वित्तीय क्षेत्रका प्रतिनिधिले आर्थिक गतिविधिमा आएको सुस्तता तथा कमजोर मागका कारण कर्जा तथा लगानी विस्तार न्यून भएको बताएका थिए । उनीहरूले खराब कर्जा वृद्धि लगायत समस्या उल्लेख गर्दै व्यवसायीहरूको मनोवल अभिवृद्धिमा जोड दिए ।
कार्यक्रममा सोह्रौ योजनाले लिएका लक्ष्य तथा कार्यान्वयनको अवस्था एवम् सरकारको वार्षिक ७ प्रतिशतको आर्थिक वृद्धि र १ सय खर्बको अर्थतन्त्र निर्माणको लक्ष्य हासिल गर्न सरकारले गर्नुपर्ने नीतिगत तथा कानुनी सुधारमा सुझाव दिइएको थियो ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले बाह्य क्षेत्र तथा वित्तीय क्षेत्रको स्थिति सन्तोषजनक रहेको अवस्थामा वास्तविक क्षेत्रका कृयाकलाप विस्तार हुनुपर्ने बताए ।
उनले आयोगले अन्तर मन्त्रालय तथा क्षेत्रगत समन्वय गर्दै निजी क्षेत्र र सरकारबीच समस्या समाधानमा सेतुको काम गर्ने बताए । उनले निजी क्षेत्रले उठाएका विषय आगामी राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा लैजाने प्रतिवद्धता व्यक्त गरे । यो छदपबाट व्यवसायी आस्वस्त भने भएका छैनन् ।












प्रतिक्रिया दिनुहोस्