नियम उल्लंघन गरेको भन्दै राष्ट्र बैंकद्वारा तीन वाणिज्य बैंकमाथि कारबाही

काठमाडौं, १५ साउन। नेपाल राष्ट्र बैंकले नियामकीय व्यवस्था उल्लंघन गरेको भन्दै तीन वटा वाणिज्य बैंकमाथि कारबाही गरेको छ।

राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र प्रभु बैंकमाथि कारबाही गरेको जनाएको छ।

राष्ट्रिय वाणिज्य बैंकलाई सचेत

राष्ट्र बैंकका अनुसार राष्ट्रिय वाणिज्य बैंकले बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली, २०८१ मा उल्लेखित व्यवस्था पालना नगरी समयमै बैंक खाता रोक्का नगरेको पाइएको छ।

यसपछि राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा १ (क) बमोजिम बैंकलाई सचेत गराइएको छ। साथै, आगामी दिनमा विनियमावलीअनुसार समयमै बैंक खाता रोक्का गर्ने व्यवस्था सुनिश्चित गर्न निर्देशन दिइएको छ।

कृषि विकास बैंकलाई पनि चेतावनी

विशेष स्थलगत निरीक्षणका क्रममा कृषि विकास बैंकले नेपाल राष्ट्र बैंक तथा कानुन कार्यान्वयन गर्ने निकायबाट आएको अनुरोधअनुसार समयमै बैंक खाता रोक्का नगरेको पाइएको राष्ट्र बैंकले जनाएको छ।

बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली, २०८१ बमोजिम अनुरोध प्राप्त हुनासाथ खाता रोक्का तथा फुकुवा गर्ने व्यवस्था कार्यान्वयन गर्न बैंकलाई राष्ट्र बैंक ऐनको दफा १०० को उपदफा १ (क) अनुसार सचेत गराइएको छ।

प्रभु बैंकलाई सुधारात्मक कदम चाल्न निर्देशन

राष्ट्र बैंकले प्रभु बैंकमा देखिएका गम्भीर कमजोरी समयमै सुधार नभएको भन्दै सञ्चालक समितिलाई सुधारात्मक कदम चाल्न निर्देशन दिएको छ।

समष्टिगत स्थलगत निरीक्षणका क्रममा अघिल्ला निरीक्षण प्रतिवेदनमा औँल्याइएका अधिकांश कमजोरी सुधार नभएको, कर्जा वर्गीकरण तथा कर्जा नोक्सानी व्यवस्था सम्बन्धी निर्देशन पालना नगरेको र राष्ट्र बैंकमा पेस गरिएको विवरण तथा बैंकको प्रणालीमा रहेको विवरणबीच फरक भेटिएको राष्ट्र बैंकले जनाएको छ।

यसका आधारमा राष्ट्र बैंक ऐन, २०५८ बमोजिम प्रभु बैंकको सञ्चालक समितिसँग सुधारात्मक कार्ययोजना कार्यान्वयन गर्ने कबुलियतनामा गराइएको छ।

तत्कालीन प्रमुख कार्यकारी अधिकृतलाई पाँच लाख रुपैयाँ जरिवाना

राष्ट्र बैंकले प्रभु बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई पनि कारबाही गरेको छ।

राष्ट्र बैंकका अनुसार नियामकीय निर्देशन पटक–पटक उल्लंघन गरेको, कर्जा वर्गीकरण र कर्जा नोक्सानी व्यवस्थासम्बन्धी व्यवस्था पालना नगरेको तथा गलत विवरण पेस गरेको पाइएकाले राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ (ग) बमोजिम शेरचनलाई पाँच लाख रुपैयाँ नगद जरिवाना गरिएको छ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले जारी भएका नियामकीय व्यवस्था पूर्ण रूपमा पालना गर्नुपर्नेमा जोड दिँदै उल्लंघन भएमा कानुनबमोजिम कारबाही गरिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्