एलपीजी ग्यास अभावले उपभोक्ता हैरान, निगम भन्छ– आपूर्ति पर्याप्त छ

काठमाडौं, १५ साउन। देशभर, विशेषगरी काठमाडौं उपत्यकामा खाना पकाउने एलपीजी ग्यासको अभाव चुलिँदै गएको छ। उपभोक्ताहरू एउटा सिलिन्डर ग्यासका लागि हप्तौँसम्म कुर्न बाध्य भएका छन्।

रित्तो सिलिन्डर बोकेर डिलर र पसल धाइरहेका उपभोक्ताले सहज रूपमा ग्यास नपाएको गुनासो गरेका छन्। बजारमा अभाव देखिए पनि नेपाल आयल निगमले भने ग्यासको कुनै कमी नरहेको दाबी गर्दै आएको छ।

निगमका अनुसार हाल उपभोक्ताको मागभन्दा बढी परिमाणमा भारतबाट एलपीजी ग्यास आयात भइरहेको छ। सामान्य अवस्थामा मासिक ३२ देखि ३४ हजार मेट्रिक टन ग्यास आयात हुने गरे पनि अहिले आयात बढाएर ४८ देखि ४९ हजार मेट्रिक टन पुर्‍याइएको निगमको भनाइ छ।

निगमका अनुसार दैनिक १०० भन्दा बढी ग्यास बुलेट नेपाल भित्रिरहेका छन्। हालै एकै दिन १४३ बुलेट र त्यसको अघिल्लो दिन १३३ बुलेट ग्यास नेपाल भित्रिएको दाबी गरिएको छ। तर आयात बढेको भनिए पनि त्यसको प्रत्यक्ष प्रभाव बजारमा नदेखिएको भन्दै उपभोक्ताले प्रश्न उठाएका छन्।

पूरा सिलिन्डर वितरणपछि बढ्यो चाप

पश्चिम एसियामा देखिएको द्वन्द्वका कारण आपूर्ति प्रभावित हुन सक्ने अनुमान गर्दै नेपाल आयल निगमले गत फागुन २९ गतेदेखि १४.२ किलोको सट्टा ७.१ किलो ग्यास मात्र बिक्री गर्ने व्यवस्था गरेको थियो।

त्यस समयमा सीमित परिमाण भए पनि धेरै उपभोक्ताले ग्यास पाएका थिए। आपूर्ति अवस्था सुधार भएपछि निगमले गत असार ३१ गतेदेखि पुनः १४.२ किलोको पूरा सिलिन्डर वितरण सुरु गरेको थियो।

पूरा सिलिन्डर वितरण सुरु भएपछि धेरै उपभोक्ताले एकैपटक ग्यास भर्ने तथा अतिरिक्त सिलिन्डर खरिद गर्न थालेपछि वितरण प्रणालीमा अचानक चाप बढेको सरोकारवालाहरूको भनाइ छ।

तर पर्याप्त आयात हुँदाहुँदै पनि उपभोक्तासम्म ग्यास सहज रूपमा किन पुग्न सकेन भन्ने विषयमा भने प्रश्न उठेको छ।

अभावसँगै कालोबजारीको गुनासो

ग्यास अभावसँगै बजारमा कालोबजारी बढेको उपभोक्ताहरूले आरोप लगाएका छन्। काठमाडौंको अनामनगर क्षेत्रमा बजार मूल्यभन्दा बढी रकम लिएर ग्यास बिक्री गरिएको एक उपभोक्ताले गुनासो गरेका छन्।

एक उपभोक्ताका अनुसार धेरै ठाउँमा खोज्दा ग्यास नपाएपछि अनामनगरस्थित बाजेको सेकुवा नजिकको एक पसलमा ग्यास भेटिएको थियो। तर त्यहाँ बजार मूल्यभन्दा ३०० देखि ५०० रुपैयाँसम्म अतिरिक्त रकम मागिएको उनको भनाइ छ।

“ग्यास खोज्दै धेरै पसल पुगेँ, कतै पाइएन। अन्तिममा एउटा पसलमा ग्यास रहेछ। बजार मूल्यभन्दा बढी पैसा लाग्ने भनियो। बाध्य भएर ३५० रुपैयाँ अतिरिक्त तिरेर ग्यास किनेँ,” उनले बताए।

अनुगमनमाथि प्रश्न

बजारमा अभाव र कालोबजारीको गुनासो बढे पनि प्रभावकारी अनुगमन र कारबाही हुन नसकेको भन्दै उपभोक्ताले असन्तुष्टि जनाएका छन्।

एकातर्फ नेपाल आयल निगमले आपूर्ति पर्याप्त रहेको दाबी गरिरहेको छ भने अर्कोतर्फ उपभोक्ताले बजारमा सहज रूपमा ग्यास नपाएको अवस्था देखिएको छ। निगमको वितरण प्रणाली र बजार अनुगमन प्रभावकारितामाथि यसले प्रश्न उठाएको छ।

प्रतिक्रिया दिनुहोस्