पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त

काठमाडौं, १५ साउन। राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्।

राष्ट्रपति पौडेल शुक्रबार प्रथम महिला सविता पौडेलसहित श्रेष्ठको सानेपास्थित निवास पुगेर श्रद्धाञ्जली अर्पण गरेका हुन्। उनले शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै श्रेष्ठको योगदानको स्मरण गरे।

राष्ट्रपति पौडेलले विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय रहेका श्रेष्ठले लोकतन्त्रको स्थापना, पुनःस्थापना र सुदृढीकरणका लागि भएका विभिन्न संघर्ष तथा आन्दोलनमा निर्वाह गरेको नेतृत्वदायी भूमिकाको प्रशंसा गरे।

राष्ट्रप्रतिको समर्पण, लोकतन्त्रप्रतिको अटल आस्था, समाजवादप्रतिको निष्ठा तथा सार्वजनिक जीवनमा श्रेष्ठले पुर्‍याएको योगदान सधैँ स्मरणीय रहने राष्ट्रपति पौडेलको भनाइ थियो।

श्रेष्ठको निधनले नेपालको लोकतान्त्रिक आन्दोलनमा ठूलो क्षति पुगेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले मुलुकले निर्भीक, सत्यको पक्षमा उभिने र निष्ठावान लोकतन्त्रवादी नेता गुमाएको महसुस गरेको बताए।

प्रतिक्रिया दिनुहोस्