“राजाको भविष्यवाणी सत्य साबित: सर्वपक्षीय सहमतिबिनाको निर्वाचनले देशमा द्वन्द्व फैलायो”
राधिका जोशी (अनुपमा) – देशमा जब जेन्जी आन्दोलन भयो, त्यसको फलस्वरूप अन्तरिम सरकार त बन्यो; तर, त्यही सरकारको आडमा दलहरू हतारहतार सत्ताको स्वाद चाख्न निर्वाचनमा होमिए। ठीक त्यसैबेला, प्रजातन्त्र दिवसको अघिल्लो दिन अर्थात् २०८२ फागुन ६ गते शुभकामना सन्देश र देशवासीका नाममा सम्बोधन गर्दै राजा ज्ञानेन्द्रले दलहरूलाई गम्भीर चेतावनी दिनुभएको थियो—‘अहिले देशमा निर्वाचनको आवश्यकता छैन, यो समयमा गरिएको निर्वाचनले समाधान होइन, देशमा झनै ठूलो द्वन्द्व निम्त्याउनेछ; त्यसैले पहिले सर्वपक्षीय सहमति र एकता आवश्यक छ, त्यसपछि मात्र निर्वाचनमा जाँदा हुन्छ।’
तर, क्षणिक सत्ता र कुर्सीको लोभमा अन्धा भएका अदूरदर्शी नेताहरूले राजाको त्यो ग्यारेन्टीयुक्त वाणीलाई सधैं अनसुना र अनदेखा गरे। त्यो संयमित र गम्भीर सम्बोधन आएको दुई घण्टा पनि नबित्दै, तिनै अहंकारले भरिएका नेताहरूले त्यसको खिल्ली उडाउँदै प्रतिप्रश्न गरे—‘चुनावले निकास दिँदैन भने केले दिन्छ त ?’
‘आफ्नै राष्ट्रिय अभिभावकको दूरदर्शितामाथि शंका गर्ने र उल्टै राजालाई अनेकन लाञ्छना, आरोप र प्रहार गर्ने यी नेताहरूको नीच चरित्र आज छर्लंग भएको छ।’
अझ विडम्बना त यो छ कि, मुखले राजाको नाम भजाउने र तिनै राजाको विरासतलाई आफ्नो स्वार्थको भोट बैंक बनाउने अवसरवादीहरू समेत राजाको त्यो गम्भीर चेतावनीलाई मजाकमा उडाउँदै दलबलसहित निर्वाचनमा होमिएका थिए। आफ्नै राष्ट्रिय अभिभावकको दूरदर्शितामाथि शंका गर्ने र उल्टै राजालाई अनेकन लाञ्छना, आरोप र प्रहार गर्ने यी नेताहरूको नीच चरित्र आज छर्लंग भएको छ।
इतिहासले बारम्बार प्रमाणित गरेको छ कि राजा सधैं दूरदर्शी हुन्छन्; देशमा भविष्यमा आउने संकट, विग्रह र आँधीबेहरीको सुइँको उनीहरूले धेरै अघि नै पाइसकेका हुन्छन् र समयमै राष्ट्रका नाममा चेतावनी पनि दिन्छन्। तर, क्षणिक सत्ताको मोहमा अन्धा भएकाहरूले त्यसलाई सधैं अनदेखा गरे, जसको परिणामस्वरुप आज निहत्था नागरिकले अनाहकमा ज्यान गुमाउनु परिरहेको छ।
आज देशको तराईदेखि गाउँवस्तीसम्म आगो बलेको छ, जनता असुरक्षित छन्। राजाले पहिले नै भविष्यवाणी गरेको संकट आज ठ्याक्कै यथार्थमा परिणत भएको छ। तर, राजाको चेतावनीलाई नजरअंदाज गरेर सत्ताको खेलमा उफ्रीबुफ्री गर्नेहरूलाई आज जनताको सीधा र कडा प्रश्न छ—ल, तिमीहरूसँग भएको कुन चाहिँ जादुई छडी छ जसले यो आगो निभाउँछ र देशलाई निकास दिन्छ? चुनावलाई मात्र लुटको सत्ता प्राप्ति गर्ने भर्याङ बनाउनेहरूले आज देशलाई दिएको निकास खोई?
आफ्नो व्यक्तिगत राजनीतिक स्वार्थ र अहंकारका लागि सिङ्गो राष्ट्रलाई गृहयुद्ध र बबन्डरको भुमरीमा हाल्नेहरूले इतिहास र जनताको कडा दण्ड भोग्नेछन्। सधैं देश र जनताको हित सोच्ने राजामाथि बेमौसमका बाजा बजाउँदै लाञ्छना लगाउनेहरूको असली मुकुट अब उत्रिसकेको छ। अब जनताले यो बित्यासको खेल टुलटुलु हेरेर बस्नेछैनन्; राष्ट्रियता र अस्तित्व बचाउन यी अवसरवादीहरूको छद्मभेषी अनुहार र अहंकारको पर्दा सडकमै च्यात्ने बेला आइसकेको छ।”












प्रतिक्रिया दिनुहोस्