सुनसरी घटनाप्रति पूर्वराजा ज्ञानेन्द्र शाहको दुःख व्यक्त, राष्ट्रिय एकता र सद्भाव कायम राख्न आग्रह
काठमाडौं, १४ साउन । पूर्वराजा ज्ञानेन्द्र शाहले सुनसरी जिल्लामा भएको जातीय तनाव तथा त्यसबाट उत्पन्न हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सम्पूर्ण नेपालीलाई आपसी सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न आग्रह गरेका छन्।
साउन १४ गते निर्मल निवासस्थित संवाद सचिवालयमार्फत जारी गरिएको ‘सद्भाव सन्देश’मा पूर्वराजा शाहले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न राष्ट्र भएकाले विविधताबीचको एकता नै नेपालको पहिचान र गौरव भएको उल्लेख गरेका छन्।
उनले नेपाली समाज परम्परादेखि नै आपसी सम्मान, माया र सद्भावका साथ अघि बढ्दै आएको उल्लेख गर्दै सबै समुदायले एकअर्काको धर्म, संस्कृति, आस्था र परम्पराको सम्मान गर्ने अभ्यासलाई निरन्तर कायम राख्नुपर्नेमा जोड दिएका छन्। यही धार्मिक, सांस्कृतिक र सामाजिक विविधताले नेपाललाई विश्वमा विशिष्ट पहिचान दिलाएको उल्लेख गर्दै त्यसमा कुनै पनि प्रकारको खलल पुग्न नदिन सबै पक्ष जिम्मेवार बन्नुपर्ने उनको भनाइ छ।
पूर्वराजा शाहले केही दिनअघि सुनसरीका केही गाउँबस्तीमा भएको आपसी द्वन्द्वका कारण जनधनको क्षति भएको र त्यसको प्रभाव कोशी प्रदेश तथा तराईका अन्य क्षेत्रमा समेत फैलिँदै जनजीवन प्रभावित बनेकोप्रति दुःख व्यक्त गरेका छन्।
नेपाल विभिन्न समुदायबीचको आपसी सद्भाव र सहअस्तित्वको उदाहरणका रूपमा चिनिने देश भएकाले यस्ता अवाञ्छित घटना र हिंसाले देशको सामाजिक एकता, मौलिक मूल्य र राष्ट्रिय सद्भावमा आघात पुर्याउने भन्दै उनले सबै नेपालीलाई संयम, सहिष्णुता र आपसी विश्वासका साथ अघि बढ्न आग्रह गरेका छन्।













प्रतिक्रिया दिनुहोस्