सिरहाको गोलबजार क्षेत्रमा कर्फ्यु आदेश जारी
काठमाडौं, १४ साउन । सिरहाको गोलबजार नगरपालिका आसपासका क्षेत्रमा स्थानीय प्रशासनले अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ।
जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको समीक्षा गर्दा आन्दोलन तथा सम्भावित हुलदङ्गाका कारण सार्वजनिक शान्ति र सुव्यवस्थामा असर पर्न सक्ने निष्कर्ष निकाल्दै जिल्ला सुरक्षा समितिको सिफारिसमा कर्फ्यु लागू गरिएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) अन्तर्गत जारी गरिएको कर्फ्यु आदेश साउन १४ गते दिउँसो २ बजेदेखि लागू भएको हो।
प्रशासनका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वतर्फ गोलबजार नगरपालिका–३ स्थित कसहा खोलादेखि पश्चिमतर्फ चोहर्वा चोकसम्मको क्षेत्र कर्फ्युको दायरामा परेको छ।
त्यसैगरी उत्तरतर्फ गोलबजार–६ स्थित सैनिक चोकदेखि दक्षिणतर्फ गोलबजार–४ मा रहेको राष्ट्रिय प्राथमिकता प्राप्त बहुमुखी क्याम्पस आसपासको क्षेत्रसमेत कर्फ्यु क्षेत्रमा समेटिएको छ।
प्रशासनले सुरक्षा अवस्था सामान्य बनाउन र सार्वजनिक शान्ति कायम राख्न कर्फ्यु आदेश जारी गरिएको जनाएको छ।













प्रतिक्रिया दिनुहोस्