सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ‘ए’ रेटिङ यथावत्, नकारात्मक निगरानी सूचीबाट हट्यो

काठमाडौं, १४ साउन । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको जारीकर्ता मूल्याङ्कन ‘ए’ स्तरमै कायम रहेको छ। इक्रा नेपालले कम्पनीको वित्तीय सुदृढता, जोखिम व्यवस्थापन क्षमता तथा दायित्व बहन गर्ने सामर्थ्यलाई आधार मान्दै यसअघि दिइएको ‘ए’ स्तरको मूल्याङ्कनलाई निरन्तरता दिएको हो।

इक्रा नेपालले कम्पनीलाई यसअघि राखिएको ‘नकारात्मक प्रभावसहितको निगरानी सूची’बाट समेत हटाएको छ। कम्पनीले पछिल्लो अवधिमा देखाएको वित्तीय अनुशासन, प्रभावकारी जोखिम व्यवस्थापन तथा मजबुत पुनर्बीमा संरचनाका कारण मूल्याङ्कन स्थिर राखिएको इक्रा नेपालले जनाएको छ।

इक्राका अनुसार ‘ए’ स्तरको जारीकर्ता मूल्याङ्कनले कम्पनीमा वित्तीय दायित्व समयमै पूरा गर्ने पर्याप्त क्षमता रहेको, जोखिमको स्तर न्यून रहेको र समग्र साख सन्तोषजनक रहेको संकेत गर्छ।

प्रतिवेदनअनुसार २०८२ साल भदौमा भएको दङ्गाबाट उत्पन्न बीमा दाबीको प्रभाव कम्पनीले प्रभावकारी रूपमा व्यवस्थापन गर्न सफल भएको छ। यही कारण कम्पनीलाई नकारात्मक निगरानी सूचीबाट हटाइएको हो।

२०२६ जुलाई २२ सम्मको विवरणअनुसार कम्पनीले करिब ५ अर्ब ७२ करोड ३० लाख रुपैयाँ बराबरका बीमा दाबी प्राप्त गरेको छ। जसमध्ये कम्पनीले आफैं व्यहोर्नुपर्ने हिस्सा करिब ११ प्रतिशत अर्थात् ६३ करोड ६० लाख रुपैयाँ रहेको छ। नियमित बीमा व्यवसायबाट प्राप्त अन्डरराइटिङ नाफा तथा लगानी आम्दानीले उक्त दायित्व व्यवस्थापन गर्न सहयोग पुग्ने इक्रा नेपालको अनुमान छ।

इक्रा नेपालले कम्पनीको तरलता अवस्था र पुँजीगत आधार दुवै सुदृढ रहेको जनाएको छ। मध्य जुलाई २०२५ सम्म कम्पनीको जोखिममा आधारित पुँजी पर्याप्तता अनुपात ३.८५ गुणा पुगेको छ। यो नियामकले तोकेको न्यूनतम १.३ गुणाभन्दा निकै माथि हो। अघिल्लो वर्ष उक्त अनुपात ३.१८ गुणा रहेको थियो।

त्यसैगरी, मध्य अप्रिल २०२६ सम्म कम्पनीको तरल सम्पत्ति र खुद बीमा सम्झौता दायित्वबीचको अनुपात ३.१ गुणा रहेको इक्रा नेपालको प्रतिवेदनमा उल्लेख छ। कम्पनीसँग आफ्ना दायित्व पूरा गर्न पर्याप्त तरल स्रोत रहेको मूल्याङ्कन गरिएको छ।

कम्पनीले सामान्य बीमा दाबी, प्राकृतिक प्रकोप तथा ठूलो क्षतिबाट उत्पन्न हुने जोखिम व्यवस्थापनका लागि प्रभावकारी पुनर्बीमा व्यवस्था कायम राखेको जनाएको छ। प्रपोर्सनल पुनर्बीमा सम्झौतामा बेस्ट मेरिडियन अन्तर्राष्ट्रिय इन्स्योरेन्स कम्पनी प्रमुख पुनर्बीमाकर्ताका रूपमा रहेको छ भने नन्–प्रपोर्सनल तथा विपत्तिजन्य जोखिमका लागि हानोभर पुनर्बीमा कम्पनीसँग व्यवस्था गरिएको छ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स सिद्धार्थ इन्स्योरेन्स लिमिटेड र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडबीच २०२३ मार्चमा भएको एकीकरणपछि स्थापना भएको निर्जीवन बीमा कम्पनी हो। कम्पनीको मुख्य कार्यालय काठमाडौंको बबरमहलमा रहेको छ।

मध्य अप्रिल २०२६ सम्म कम्पनीले १२८ वटा शाखा कार्यालयमार्फत सेवा प्रदान गरिरहेको छ। कम्पनीमा संस्थापक र सर्वसाधारण शेयरधनीको शेयर स्वामित्व अनुपात ५१ः४९ रहेको छ।

कम्पनीले आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामा ४ करोड रुपैयाँ करपछिको नाफा आर्जन गरेको छ भने कुल सम्पत्ति १२ अर्ब ८९ करोड १० लाख रुपैयाँ पुगेको छ। आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ७५ करोड ६० लाख रुपैयाँ करपछिको नाफा कमाएको थियो।

प्रतिक्रिया दिनुहोस्