लक्ष्मी सनराइज बैंकले ३ अर्ब रुपैयाँको ‘७% लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ निष्काशन खुला गर्यो

काठमाडौं, १४ साउन । लक्ष्मी सनराइज बैंक लिमिटेडले आज साउन १४ गतेदेखि वार्षिक ७ प्रतिशत ब्याजदर भएको ‘७% लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ निष्काशन तथा बिक्री खुला गरेको छ।

बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो, जसको कुल आकार ३ अर्ब रुपैयाँ बराबर रहेको छ। निष्काशित ऋणपत्रको अवधि १० वर्ष रहनेछ।

कुल निष्काशनमध्ये १८ लाख कित्ता अर्थात् ६० प्रतिशत ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी १२ लाख कित्ता अर्थात् ४० प्रतिशत ऋणपत्र सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गरिएको बैंकले जनाएको छ।

सर्वसाधारणका लागि छुट्याइएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण उपलब्ध कित्तासम्म आवेदन दिन सक्नेछन्।

बैंकका अनुसार ऋणपत्रमा छिटोमा साउन १९ गतेसम्म र सो अवधिमा पर्याप्त आवेदन नपरे ढिलोमा साउन २८ गतेसम्म आवेदन दिन सकिनेछ।

ऋणपत्र निष्काशनका लागि गरिएको रेटिङमा केयर रेटिङ्स नेपालले बैंकलाई ‘CARE-NP BBB+ (Issuer Rating)’ प्रदान गरेको छ। उक्त रेटिङले बैंकको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमता मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्दछ।

यस ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा माछापुच्छ्रे क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया दिनुहोस्