सन नेपाल लाइफको ३.७७ करोड कित्ता शेयरको लकइन अवधि भदौ १४ गते सकिने

काठमाडौं, १४ साउन । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३ करोड ७७ लाख ७२ हजार २४ कित्ता शेयरको लकइन अवधि आगामी भदौ १४ गते समाप्त हुने भएको छ।

कम्पनीका अनुसार नेपाल धितोपत्र बोर्डमा दर्ता भएको बोनस तथा हकप्रद शेयरसहित कुल ५ करोड २८ लाख २७ हजार ९३६ कित्ता शेयरमध्ये ३ करोड ७७ लाख ७२ हजार २४ कित्ता शेयर हाल लकइनमा रहेको छ।

लकइनमा रहेका शेयरमध्ये संस्थापक शेयरधनीको नाममा रहेको ३ करोड ६९ लाख ७९ हजार ५५५ कित्ता तथा कम्पनीका कर्मचारीलाई बाँडफाँड गरिएको ७ लाख ९२ हजार ४६९ कित्ता शेयरको लकइन अवधि सकिन लागेको हो।

यी शेयर विगत तीन वर्षदेखि लकइनमा रहेका थिए। लकइन अवधि समाप्त भएपछि भदौ १५ गतेदेखि उक्त शेयर नियमित रूपमा दोस्रो बजारमा कारोबार गर्न सकिने कम्पनीले जनाएको छ।

यद्यपि, कम्पनीका सञ्चालक तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीको नाममा रहेको शेयर भने प्रचलित नियामकीय व्यवस्थाअनुसार रोक्का नै रहने कम्पनीले स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्