११९ जनाको जम्बो टोली सहित प्रधानमन्त्री ओली चीन प्रस्थान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चार मन्त्रीसहित १ सय १९ जनाको जम्बो टोली लिएर पाँच दिने भ्रमणका क्रममा आज चीन प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री ओली जम्बो टोली सहित बिहान साढे ८ बजे हिमालय एयरलाइन्सको विमान चार्टर्ड गरी चीन गएका हुन्।

टोलीमा प्रधानमन्त्री ओलीसँगै गृह मन्त्री रामबहादुर थापा, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, उर्जा मन्त्री वर्षमान पुन तथा यातायात मन्त्री रघुबीर महासेठसहित अधिकांश उच्च पदका सरकारी अधिकारी भ्रमणमा गएका छन् ।

प्रधानमन्त्रीका साथ सरकारी प्रतिनिधिमण्डलमा ४२, सञ्चारकर्मी ६ र बेइजिङस्थित नेपाली दूतावासका आठजना सहभागी रहेका छन् । त्यसैगरी विभिन्न सञ्चारमाध्यका प्रधान सम्पादक तथा वरिष्ठ पत्रकार ११ र उद्योगी व्यापारीको टोलीमा ५२ जना सहभागी रहेका छन । सबै गरी ११९ जना हुनेछन् ।

नेपालको आर्थिक, सामाजिक विकास र समृद्धि प्राप्त गर्ने सरकारको लक्ष्यलाई केन्द्रबिन्दुमा राखेर प्रधानमन्त्रीको भ्रमणको तयारी गरिएको छ । द्विपक्षीय सहयोगलाई अझ फराकिलो बनाएर लैजाने मुख्य उद्देश्यसहित भ्रमण तय भएको हो ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नेछन् ।

भ्रमणकै सिलसिलामा केही सहमति र समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासाको पनि भ्रमण गर्नेछन् । त्यहाँ उनले तिब्बतका प्रान्तीय नेतासँग भेटवार्ता गर्नेछन् ।
प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही असार १० गते स्वदेश फर्कनेछ।

प्रतिक्रिया दिनुहोस्