अन्तरिक्षबाट देखिन थाल्यो चिलीको ‘कपडाको पहाड’, ६० हजार टन फोहोरले बढायो वातावरणीय संकट
काठमाडौं, १३ असार । दक्षिण अमेरिकी देश चिलीको अटाकामा मरुभूमि अहिले ‘कपडाको पहाड’का कारण विश्वभर चर्चामा छ। विश्वकै सबैभन्दा सुक्खा मरुभूमिमध्ये एक अटाकामामा वर्षौंदेखि थुप्रिँदै आएको करिब ६० हजार टन फोहोर कपडाले विशाल पहाडको रूप लिएको छ, जुन अहिले अन्तरिक्षबाट समेत देखिन थालेको बताइएको छ।
चिली तामा र लिथियमजस्ता खनिजका लागि विश्वप्रसिद्ध देश हो। विश्वको करिब २४ प्रतिशत तामा चिलीमै पाइन्छ। तर पछिल्ला वर्षहरूमा अटाकामा मरुभूमि खनिजभन्दा पनि फालिएका कपडाको थुप्रोका कारण चर्चामा आएको छ।
विश्वभरबाट संकलन गरिएका प्रयोग भएका तथा बिक्री हुन नसकेका कपडा चिलीको उत्तरी बन्दरगाह इक्विक हुँदै अटाकामा मरुभूमिसम्म पुग्ने गरेका छन्। ती कपडा मुख्यतः युरोप, अमेरिका, क्यानडा तथा एसियाका विभिन्न देशबाट सेकेन्ड ह्यान्ड व्यापारमार्फत चिली भित्रिने गरेका छन्।
व्यापारीहरूले पुनः बिक्री गर्न सकिने कपडा छुट्याएपछि बिक्री हुन नसकेका वा कम गुणस्तरका कपडा व्यवस्थापन नगरी मरुभूमिमा फाल्ने गरिएको वातावरणविद्हरूको भनाइ छ। यही कारण अटाकामामा कपडाको पहाड हरेक वर्ष थप ठूलो बन्दै गएको छ।
तीव्र फेसन प्रवृत्तिले बढायो समस्या
विश्वभर कपडाको प्रयोग र फेसनको प्रवृत्ति तीव्र रूपमा बदलिँदै जाँदा कपडाको फोहोर पनि बढ्दो क्रममा रहेको छ। कम मूल्यमा उत्पादन हुने कपडाको अत्यधिक प्रयोग र छिटो परित्याग गर्ने संस्कृतिले यो समस्या झन् गम्भीर बनेको विज्ञहरूको भनाइ छ।
अटाकामामा थुप्रिएका कपडामा ज्याकेट, जुत्ता, बालबालिकाका लुगा तथा नयाँजस्तै देखिने तर बिक्री हुन नसकेका सामग्रीसमेत रहेका छन्।
वातावरणका लागि दीर्घकालीन चुनौती
वातावरणविद्हरूका अनुसार फोहोरका रूपमा थुप्रिएका अधिकांश कपडा प्राकृतिक रेसाबाट बनेका छैनन्। पलिएस्टर तथा पेट्रोलियमजन्य कृत्रिम रेसाबाट बनेका कपडा दशकौंसम्म वातावरणमा नष्ट हुँदैनन्।
ती कपडा हावाले मरुभूमिभर फैलिनुका साथै घामको प्रभावले सूक्ष्म कणमा परिणत हुने जोखिम रहेको बताइएको छ। यस्ता कपडा जलाउँदा विषाक्त धुवाँ निस्कने भएकाले स्थानीय बासिन्दाको स्वास्थ्यमा समेत असर पर्न सक्ने चेतावनी विज्ञहरूले दिएका छन्।
अटाकामा मरुभूमिमा अत्यन्त कम वर्षा हुने भएकाले त्यहाँ फालिएका कपडा लामो समयसम्म यथावत् रहने र वातावरणीय संकट थप गहिरिँदै जाने उनीहरूको निष्कर्ष छ।













प्रतिक्रिया दिनुहोस्