कुमारी बैंक र कुराकानी अनलाइनबीच सहकार्य, मोबाइल बैंकिङ एपबाटै अन्तर्राष्ट्रिय डेटा र ड्राइभिङ अनुमति सेवा

काठमाडौं, १३ असार । कुमारी बैंक लिमिटेड र नेपालस्थित प्रविधि कम्पनी कुराकानी अनलाइनबीच ग्राहकलाई थप सहज तथा डिजिटल सेवा उपलब्ध गराउने उद्देश्यले सहकार्य सम्झौता भएको छ।

सम्झौतापछि कुराकानी अनलाइनका अन्तर्राष्ट्रिय डेटा र अन्तर्राष्ट्रिय ड्राइभिङ अनुमति सम्बन्धी सेवा कुमारी बैंकको मोबाइल बैंकिङ एपमा एकीकृत गरिएको बैंकले जनाएको छ।

यससँगै कुमारी बैंकका ग्राहकले अब मोबाइल बैंकिङ एपमार्फत नै अन्तर्राष्ट्रिय डेटा प्याकेज खरिद गर्न तथा अन्तर्राष्ट्रिय ड्राइभिङ अनुमतिका लागि आवेदन दिन सक्नेछन्।

बैंकका अनुसार विदेश भ्रमण गर्ने, उच्च शिक्षा अध्ययनका लागि विदेश जाने, वैदेशिक रोजगारीमा रहेका तथा व्यवसायिक प्रयोजनका लागि नियमित विदेश यात्रा गर्ने ग्राहकलाई यस सेवाले विशेष सुविधा प्रदान गर्नेछ।

अन्तर्राष्ट्रिय डेटा सेवामार्फत ग्राहकले विदेश पुगेपछि स्थानीय सिम कार्ड खरिद गर्न वा नयाँ नेटवर्क खोज्नुपर्ने झन्झटबाट छुटकारा पाउने बैंकको विश्वास छ। त्यस्तै, अन्तर्राष्ट्रिय ड्राइभिङ अनुमति सेवाले आवेदन प्रक्रिया थप सरल, छिटो र व्यवस्थित बनाउने जनाएको छ।

यस सेवाको अर्को विशेषता भनेको अन्तर्राष्ट्रिय डेटा र अन्तर्राष्ट्रिय ड्राइभिङ अनुमति सेवाको शुल्क ग्राहकले कुमारी बैंकको मोबाइल बैंकिङ एपमार्फत नेपाली रुपैयाँमै भुक्तानी गर्न सक्ने व्यवस्था हो। यसले विदेशी मुद्रा भुक्तानीका वैकल्पिक माध्यम खोज्नुपर्ने आवश्यकता घटाउने बैंकले जनाएको छ।

बैंकका अनुसार यस सेवाले ग्राहकको समय, लागत र श्रम बचत गर्नुका साथै अन्तर्राष्ट्रियस्तरका सेवा स्वदेशमै बसेर डिजिटल माध्यमबाट प्राप्त गर्न सहज बनाउनेछ।

विगत २५ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंकले हाल देशभर २८५ शाखा, ४१ विस्तार काउन्टर, ३०३ एटीएम तथा ४० शाखारहित बैंकिङ केन्द्रमार्फत सेवा दिँदै आएको छ।

बैंकले प्रविधिमैत्री सेवा विस्तारलाई प्राथमिकतामा राख्दै ग्रामीण, अर्धशहरी र शहरी क्षेत्रका ग्राहकसम्म अन्तर्राष्ट्रियस्तरका डिजिटल सेवा पुर्‍याउन यस सहकार्यले महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्