फिर्केखोलाको मापदण्ड मिचेर बनाइएका संरचना हटाउन पोखरा महानगरको ताकेता

काठमाडौं, १३ असार । पोखरा महानगरपालिकाले फिर्केखोलाको मापदण्ड मिचेर निर्माण गरिएका अनधिकृत संरचना तत्काल हटाउन सम्बन्धित घरधनी तथा संस्थाहरूलाई निर्देशन दिएको छ।

विगतमा आफैं संरचना हटाउने प्रतिबद्धता जनाएका घरधनी तथा संस्थाहरूलाई महानगरले पुनः ताकेता गर्दै तोकिएको समयभित्र संरचना हटाउन आग्रह गरेको हो।

अँधेरीकुनादेखि फेवातालसम्म बग्ने करिब ८ किलोमिटर लामो फिर्केखोला क्षेत्रमा बनेका अनधिकृत संरचना हटाउने कामलाई निरन्तरता दिने महानगरले जनाएको छ।

महानगरका अनुसार ठूला संरचनाहरू हटाउने प्रक्रिया सुरु गरेपछि सम्बन्धित घरधनी तथा संस्थाहरूले बाँकी संरचना आफैं हटाउने मौखिक प्रतिबद्धता जनाएका थिए। तर, तोकिएको समयभित्र प्रतिबद्धताअनुसार संरचना नहटाइएपछि महानगरले पुनः ध्यानाकर्षण गराएको हो।

महानगरले जारी गरेको सूचनामा घरधनीहरूले संरचना नहटाए वर्षायाम सकिएलगत्तै महानगर आफैंले हटाउने चेतावनी दिएको छ।

हाल वर्षायामका कारण संरचना हटाउन प्रयोग हुने ठूला उपकरण परिचालनमा कठिनाइ भइरहेको महानगरले जनाएको छ। वर्षा सकिएपछि हटाउने अभियानलाई थप प्रभावकारी रूपमा अघि बढाइने बताइएको छ।

यसअघि पोखरा महानगरले फिर्केखोलाको खोलाघर खाली गरिसकेको दाबी गरेको थियो। महानगरका सूचना अधिकारी कृष्ण तिवारीले ‘भत्काउने काम सकिएको’ बताएका थिए।

तर, महानगरकै प्रतिवेदनअनुसार फिर्केखोलाको खोलाघर क्षेत्रमा १ सय ६० वटा संरचना रहेका छन्। तीमध्ये केही संरचना पूर्ण रूपमा हटाइएका छन् भने केहीमा आंशिक रूपमा भत्काउने काम भएको छ। बाँकी संरचना अझै हटाउन बाँकी रहेको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्