सिटिजन लाइफका सेवा पाँच दिन बन्द हुने, बीमाशुल्क बुझाउने म्याद साउन २० गतेसम्म थप
काठमाडौं, १३ असार । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो बीमा व्यवस्थापन प्रणाली परिमार्जन गर्ने क्रममा पाँच दिनका लागि कारोबार तथा सेवा बन्द गर्ने भएको छ।
कम्पनीले हाल सञ्चालनमा रहेको ‘लाइफ इन्स्योरेन्स म्यानेजमेन्ट सिस्टम–आईसोलुशन’लाई स्तरोन्नति गरी ‘आईसोलुशन भर्सन नेक्स्ट’मा प्रतिस्थापन गर्न लागिएको जनाएको छ। यसका लागि साउन १४ गते बिहीबार बेलुकी ८ बजेदेखि साउन १८ गते सोमबार बिहान ८ बजेसम्म सम्पूर्ण कारोबार तथा सेवा अवरुद्ध हुनेछन्।
कम्पनीका अनुसार उक्त अवधिमा केन्द्रीय कार्यालयसहित सबै शाखा तथा उपशाखाबाट प्रवाह हुने बीमालेखसम्बन्धी सेवा, डिजिटल माध्यमबाट बीमाशुल्क भुक्तानी, मोबाइल एप, ग्राहक पोर्टल तथा अभिकर्ता पोर्टल सञ्चालनमा रहने छैनन्।
यद्यपि, सेवा अवरुद्ध हुने अवधिमा अन्तिम मिति परेका बीमालेखको नवीकरण बीमाशुल्क बुझाउँदा ढिलाइ शुल्क नलाग्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ। त्यस्ता बीमालेखको बीमाशुल्क साउन २० गते बुधबारसम्म बुझाउन सकिनेछ।
कम्पनीले प्रणाली स्तरोन्नतिका कारण सेवाग्राहीमा पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै आवश्यक काम समयमै व्यवस्थापन गर्न आग्रह गरेको छ।













प्रतिक्रिया दिनुहोस्