मुग्लिन–नारायणगढ सडकमा दुईपटक सुक्खा पहिरो, अवरोध हटाएर यातायात पुनः सञ्चालन
काठमाडौं, १२ साउन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन बजार नजिकैको खहरे खोलामा मंगलबार पटक–पटक सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ। सडक डिभिजन भरतपुरले पहिरो पन्छाएपछि यातायात पुनः सञ्चालनमा आएको जनाएको छ।
बिहान करिब ७ः३० बजे खसेको पहिरोका कारण सडक अवरुद्ध भएको थियो। करिब पाँच घण्टाको निरन्तर प्रयासपछि दिउँसो सडक सञ्चालनमा ल्याइए पनि डेढ घण्टापछि सोही स्थानमा पुनः अर्को सुक्खा पहिरो खसेको थियो।
दोस्रो पटक खसेको पहिरो करिब एक घण्टामा हटाइएपछि दिउँसो ४ः१५ बजेदेखि सडकमा पुनः सवारी आवागमन सञ्चालन गरिएको सडक डिभिजन भरतपुरले जनाएको छ।
सडक डिभिजन भरतपुरका इन्जिनियर अर्जुन घिमिरेले पहिरो खसेको स्थान नयाँ भएकाले जोखिम अझै कायम रहेको बताए। उनका अनुसार पहिरो हटाएर सडक खुला गरिए पनि थप पहिरो खस्ने सम्भावना रहेकाले उच्च सतर्कता अपनाइएको छ।
उनले चालकलाई एकतर्फी लेन प्रयोग गर्दै धैर्यका साथ सवारी चलाउन आग्रह गरेका छन्। साथै, आवश्यक मेसिन तथा जनशक्ति प्रभावित क्षेत्रमा तयारी अवस्थामा राखिएको जानकारी दिएका छन्।
सडक डिभिजनले यात्रु तथा सवारी चालकलाई यात्रा अघि सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न तथा जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।













प्रतिक्रिया दिनुहोस्