मुलुकको राष्ट्रिय स्वाभिमानलाई केन्द्रमा राखेर सम्झौता गरिने : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा विकासको एजेण्डाले प्राथमिकता पाउने बताएका छन् ।
अघिल्लो पटक प्रधानमन्त्री हुँदा आफूले चीनसँग दूरगामी महत्वका समझदारीहरु गरेको स्मरण गर्दै उनले ती सम्झौताहरु र संयक्त वक्तव्यमा उल्लेख गरेका कुरामा थप छलफल गर्ने पनि बताए ।
उनले भने, हाम्रो राष्ट्रिय प्राथमितामा रहेको विकासको एजेण्डामा के कस्तो सहयोग गर्न सक्नुहुन्छ र के कस्तो सहकार्य गर्न सक्छौं ।’अघि भने, ‘महामहिम शीसँग मेरो भेटवार्ता हुनेछ । त्यसबेला मैले नेपालका हित र दृष्टिकोण राख्नेछु । नेपाल र चीन सम्वन्ध कसरी सुदृढ गर्न सकिन्छ भनेर राख्नेछु ।’
प्रधामन्त्री ओली चिनियाँ समकक्षी लि खछ्याङको निमन्त्रणमा मंगलवार (भोलि) चीनको औपचारिक भ्रमणमा जाँदैछन् । भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति शी जिनपिङसँग शिष्टाचार भेटवार्ता गर्नुका साथै खछ्याङसँग प्रतिनिधिमण्डल स्तरमा वार्ता गर्नेछन् ।
भ्रमणबारे सोमवार संसदलाई जानकारी गराउँदै प्रधानमन्त्री ओलीले चीन समस्यासहित छिमेकी भएको बताए । उनले भने, ‘चीन, जसले हाम्रो सार्वभौमसत्ताको खुलेआम सम्मान गरेको छ । आफू धेरै विकसित नभएको अवस्थामा पनि नेपाललाई राम्रो सहयोग गरेको थियो । म त्यो देशको भ्रमणमा जाँदैछु ।’
चिनियाँ नेताहरुसँगको भेटमा ब्यापार घाटा काम गर्ने तथा ओबर अन्तरगत पूर्वाधार विकास, रेल(सडक निर्माण र जलविद्युत आयोजना कार्यान्वयनमा चिनियाँ सहयोग कसरी जुटाउने छलफल गर्ने प्रधानमन्त्रीले बताए ।
भ्रमणमा रेल्वे, उर्जा सहयोग, पुनर्निर्माणमा द्विपक्षीय सम्झौता तथा समझदारी हुने उनले बताए । ‘मुलुकको बृहत्तर हित, राष्ट्रिय स्वभिमानलाई केन्द्रमा राखेर नेपालको आवश्यकता र प्राथमिकतालाई ध्यानमा राखेर द्विपक्षीयबीच सम्झौता र छलफल गरिनेछन’ प्रधानमन्त्री ओलीले संसदमा भने ।
प्रधानमन्त्रीले एक चीन नीतिप्रति नेपाल प्रतिवद्ध रहेको भन्दै नेपाली भूमिमा चीन विरोधी हुन नदिने बताए ।
प्रतिक्रिया दिनुहोस्