धितोपत्र बोर्ड दोहोरो आईजीन व्यवस्थाबाट पछि हट्ने तयारीमा
काठमाडौं, १२ साउन । नेपाल धितोपत्र बोर्डले दोहोरो अन्तर्राष्ट्रिय पहिचान नम्बर (आईजीन) लागू गर्ने व्यवस्थाबाट पछि हट्ने संकेत गरेको छ।
नेपालको पुँजी बजारलाई थप व्यवस्थित बनाउने उद्देश्यले सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले करिब एक वर्षअघि ल्याएको ‘धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका–२०८२’ मा संस्थापक र साधारण सेयरलाई छुट्टाछुट्टै आईजीन प्रदान गर्ने व्यवस्था गरिएको थियो।
धितोपत्र बोर्डका अध्यक्ष गोपाल भट्टले केही दिनअघि पत्रकारहरूसँगको भेटमा सीडीएससीले पठाएको दोहोरो आईजीनसम्बन्धी कार्यविधि अघि नबढाउने संकेत गरेका हुन्।
उक्त निर्देशिकाअनुसार कम्पनीका संस्थापक (प्रमोटर) सेयर र सर्वसाधारण सेयरलाई फरक–फरक अन्तर्राष्ट्रिय पहिचान नम्बर दिने व्यवस्था गरिएको थियो। तर, उक्त व्यवस्था समेटिएको कार्यविधि करिब एक वर्षदेखि धितोपत्र बोर्डमै विचाराधीन अवस्थामा रहेको थियो।
तत्कालीन बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठको कार्यकालमा उक्त कार्यविधि अघि बढ्न सकेको थिएन। अहिले नयाँ अध्यक्षका रूपमा जिम्मेवारी सम्हालेका गोपाल भट्टले विगतमा रोकिएका र थन्किएका फाइलहरूको अध्ययन गरी आवश्यक निर्णय गर्दै अघि बढ्ने तयारी गरेका छन्।
दोहोरो आईजीन व्यवस्थाले पुँजी बजारमा थप जटिलता सिर्जना गर्ने वा व्यवस्थापनलाई सहज बनाउने भन्ने विषयमा सरोकारवालाबीच फरक–फरक धारणा रहँदै आएको छ। अब बोर्डले उक्त व्यवस्थाबारे अन्तिम निर्णय लिने अपेक्षा गरिएको छ।













प्रतिक्रिया दिनुहोस्