सुनसरीको कोशी कटान क्षेत्रमा तनाव चर्कियो, आगजनी र तोडफोडपछि कर्फ्यु कायमै

काठमाडौं, १२ साउन । सुनसरीको कोशी कटान क्षेत्रको अवस्था थप तनावग्रस्त बनेको छ। प्रदर्शनकारीहरूले विभिन्न पसलमा तोडफोड, लुटपाट तथा आगजनी गरेका छन् भने सुरक्षा व्यवस्था कडा पार्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको विरोधमा उत्रिएको समूहले आगजनी गर्नुका साथै पूर्व–पश्चिम राजमार्गका विभिन्न स्थानमा टायर बालेर सडक अवरुद्ध गरेको छ। प्रदर्शनका कारण राजमार्गको सुनसरी खण्डमा सवारी आवागमन प्रभावित भएको छ।

तनावको पृष्ठभूमिमा आइतबार कप्तानगञ्जमा दुई समूहबीच भएको झडप नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको थियो भने नौ जना घाइते भएका थिए।

घटनापछि अवस्था नियन्त्रणमा लिन स्थानीय प्रशासनले दक्षिणी क्षेत्रका पाँच स्थानमा कर्फ्यु आदेश जारी गरेको थियो। कर्फ्यु उल्लंघन गर्दै सोमबार दिनभर प्रदर्शन जारी रहेपछि मंगलबार पनि कर्फ्युलाई निरन्तरता दिइएको छ।

प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा जारी सूचनाअनुसार मंगलबार बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म देवानगञ्ज गाउँपालिका र हरिनगर गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा निषेधाज्ञा लागू गरिएको छ। साथै हरिनगरा, भुटाहा, कप्तानगञ्ज, घुस्की र

क्षेत्रमा कर्फ्यु आदेश यथावत् रहेको प्रशासनले जनाएको छ।

प्रशासनले सर्वसाधारणलाई कर्फ्यु तथा निषेधाज्ञाको पूर्ण पालना गर्न र अफवाहमा नलाग्न आग्रह गरेको छ भने सुरक्षा निकायले क्षेत्रको अवस्थालाई नजिकबाट निगरानी गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्