नेपाल एसबिआई बैंकलाई चार अन्तर्राष्ट्रिय बैंकिङ सम्मान

काठमाडौं, ११ साउन । नेपाल एसबिआई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय स्तरका चार प्रतिष्ठित बैंकिङ सम्मान प्राप्त गरेको छ। भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैंकिङ अवार्ड–२०२६ मा बैंक विभिन्न चार विधामा सम्मानित भएको हो।

इन्डियन चेम्बर अफ कमर्सद्वारा आयोजित कार्यक्रममा बैंकले साना तथा मझौला उद्यम प्रवर्द्धन, सम्पत्तिको गुणस्तर, नाफामुखी कार्यसम्पादन तथा उत्कृष्ट वाणिज्य बैंक विधामा पुरस्कार प्राप्त गरेको जनाएको छ।

उक्त सम्मान बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द र वित्त तथा योजना विभाग प्रमुख नेत्र खतिवडाले ग्रहण गरेका हुन्।

बैंकका अनुसार यी अन्तर्राष्ट्रिय सम्मानले व्यावसायिक बैंकिङमा उत्कृष्ट कार्यसम्पादन, सम्पत्तिको गुणस्तर व्यवस्थापन, नाफामुखी सेवा विस्तार तथा साना र मझौला उद्यमको प्रवर्द्धनप्रतिको प्रतिबद्धतालाई थप स्थापित गरेको छ।

नेपाल एसबिआई बैंकले विगत ३३ वर्षदेखि नेपालमा बैंकिङ सेवा प्रदान गर्दै आएको छ। हाल बैंकका १०३ शाखा, २२ विस्तारित सेवा कक्ष, सात प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ सेवा, १२७ स्वचालित नगद सेवा केन्द्र तथा एक केन्द्रीय कार्यालय सञ्चालनमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्