राजर्षि जनक विश्वविद्यालयको सुधारमा सरकार प्रतिबद्ध : शिक्षामन्त्री पोखरेल
काठमाडौं, ११ साउन । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले राजर्षि जनक विश्वविद्यालयका समस्या समाधान र शैक्षिक सुधारका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।
विश्वविद्यालयको अवस्था बुझ्न तथा आगामी कार्यदिशाबारे छलफल गर्न जनकपुर पुगेका मन्त्री पोखरेलले विश्वविद्यालयलाई थप व्यवस्थित र प्रभावकारी ढङ्गले अघि बढाउने बताएका हुन्।
विश्वविद्यालयका पदाधिकारीसँगको छलफलमा मन्त्री पोखरेलले विशेषगरी भौतिक पूर्वाधार निर्माण र जग्गा व्यवस्थापनको विषयमा चासो व्यक्त गरे। आफ्नै भवन नहुँदा विश्वविद्यालयले भोग्दै आएका समस्याबारे जानकारी लिँदै उनले जग्गा प्राप्तिको कानुनी प्रक्रिया छिटो टुङ्ग्याएर निर्माण कार्य सुरु गर्ने प्रतिबद्धता जनाए।
‘आज हामी उपकुलपतिसँग छलफल गरी विश्वविद्यालयका समस्या, विशेषगरी जग्गा व्यवस्थापन र आफ्नै भवन निर्माणका विषयमा परामर्श गरेका छौँ,’ मन्त्री पोखरेलले भने, ‘यी कामलाई शीघ्र अघि बढाउने तयारी भइरहेको छ।’
भ्रमणका क्रममा मन्त्री पोखरेलले विद्यार्थीलाई खेलकुद सामग्रीसमेत हस्तान्तरण गरेका छन्। करिब दुई महिनाअघि भएको भ्रमणका क्रममा विद्यार्थीले खेल सामग्री अभाव रहेको गुनासो गरेपछि उनले क्रिकेट ब्याट, बल र फुटबललगायत सामग्री उपलब्ध गराएका हुन्।
आफ्नो पूर्वप्रतिबद्धताअनुसार विद्यार्थीको माग सम्बोधन गर्न पाउँदा खुसी लागेको मन्त्री पोखरेलले बताए।
मधेश प्रदेशलाई ‘साक्षर प्रदेश’ घोषणा गर्ने अभियानबारे मन्त्री पोखरेलले यसअघि नै प्रतिवेदन तयार गरी प्रदेश सरकारलाई हस्तान्तरण गरिसकिएको जानकारी दिए। उक्त अभियानको प्रगति सन्तोषजनक रहेको उल्लेख गर्दै उनले आगामी दिनमा प्रदेश प्रमुख तथा सम्बन्धित निकायका प्रमुखसँग थप छलफल र समन्वय गरिने बताए।
शिक्षा क्षेत्रमा थुप्रै चुनौती रहे पनि त्यसलाई अवसरका रूपमा उपयोग गर्दै सरकार अघि बढिरहेको मन्त्री पोखरेलको भनाइ छ। उनले समस्या पहिचान गरी समाधान गर्दै राजर्षि जनक विश्वविद्यालयलाई थप सक्षम र व्यवस्थित संस्थाका रूपमा विकास गर्ने उद्देश्यका साथ काम भइरहेको बताए।













प्रतिक्रिया दिनुहोस्