गुल्मीमा ग्यास सिलिन्डर बोकेको बोलेरो दुर्घटना, चार जना घाइते
काठमाडौं, ११ साउन । गुल्मीको धुर्कोट गाउँपालिका–४ जैसिथोक खहरेस्थित तम्घास–पुर्कोटदह सडक खण्डमा ग्यास सिलिन्डर बोकेको बोलेरो जीप दुर्घटना हुँदा चार जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार सोमबार बिहान करिब ८ बजे तम्घासबाट पुर्कोटदहतर्फ जाँदै गरेको ग३च ४५१८ नम्बरको एलपीजी ग्यास सिलिन्डर बोकेको डबल क्याप बोलेरो सडकबाट करिब १५ मिटर तल खस्दा दुर्घटना भएको हो।
दुर्घटनामा मालिका गाउँपालिका–३ काउले निवासी ३२ वर्षीया सीता थापाको अनुहारमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेकाले जिल्ला अस्पताल तम्घासमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि पाल्पा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए।
यस्तै, मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१८ निवासी २४ वर्षीय गौतम लोको बाँया हातमा चोट लागेको छ भने लमजुङको बेँसीशहर नगरपालिका–६ निवासी २६ वर्षीय अविलाल राउतको निधार र ढाडमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ। दुवै जनाको अवस्था सामान्य रहेको छ।
गाडीमा सवार ललितपुरको गोदावरी नगरपालिका–११ निवासी ४० वर्षीय कृष्ण दाहाल भने सकुशल रहेका छन्।
दुर्घटनाका बेला बोलेरोमा चालकसहित पाँच जना सवार थिए। चालक ललितपुरको गोदावरी नगरपालिका–१ निवासी २६ वर्षीय विशाल सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार दुर्घटनाग्रस्त बोलेरो घटनास्थलमै रहेको छ भने दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।













प्रतिक्रिया दिनुहोस्