बीमा दाबी भुक्तानीका बेला नयाँ पोलिसी किन्न दबाब नदिन प्राधिकरणको चेतावनी

काठमाडौं, ११ साउन । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानी गर्ने क्रममा बीमितलाई पुनः नयाँ बीमालेख (पोलिसी) खरिद गर्न दबाब नदिन जीवन तथा लघुजीवन बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ।

प्राधिकरणले दाबी भुक्तानीलाई अर्को बीमालेख खरिदसँग जोड्ने वा बीमितलाई अनुचित दबाब दिएर नयाँ बीमा योजना खरिद गर्न बाध्य पार्ने कार्य बीमा ऐन, २०७९ विपरीत हुने जनाएको छ। यस्तो कार्य गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने प्राधिकरणले चेतावनी दिएको छ।

प्राधिकरणका सहायक निर्देशक सुदीप गिरीका अनुसार पछिल्लो समय वैदेशिक रोजगार म्यादी बीमा तथा अन्य जीवन बीमाको दाबी भुक्तानीका क्रममा केही बीमकले नयाँ बीमालेख खरिद गर्न दबाब दिएको गुनासो बढेपछि यस्तो निर्देशन जारी गरिएको हो।

प्राधिकरणले बीमा दाबी भुक्तानी बीमकको करारीय दायित्व भएकाले दाबी भुक्तानीका समयमा कुनै पनि अतिरिक्त सर्त राख्न वा अर्को बीमालेख बिक्रीसँग जोड्न नमिल्ने स्पष्ट गरेको छ।

साथै, बीमितलाई अनावश्यक दुःख, झन्झट वा दबाब नदिन सबै जीवन तथा लघुजीवन बीमा कम्पनीहरूलाई सचेत गराउँदै निर्देशिका तथा प्रचलित कानुनको पूर्ण पालना गर्न प्राधिकरणले आग्रह गरेको छ।

प्राधिकरणले दाबी भुक्तानीका क्रममा बीमितमाथि अनुचित दबाब दिएको वा नयाँ बीमालेख खरिद गर्न बाध्य पारेको पाइएमा बीमा ऐन, २०७९ अनुसार आवश्यक कारबाही गरिने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्