सिद्धार्थ व्यवस्थित लगानी योजनाले घोषणा गर्‍यो ३% नगद लाभांश, गत वर्षभन्दा कम वितरण

काठमाडौं, ११ साउन । चालु आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गर्ने पहिलो सामूहिक लगानी योजना बनेको सिद्धार्थ व्यवस्थित लगानी योजना ले आफ्ना इकाईधनीहरूलाई करसहित ३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेड को साउन ८ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट इकाईधनीहरूलाई ३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

व्यवस्थापकका अनुसार प्रस्तावित लाभांश साउन ८ गतेसम्म कायम रहेका इकाईधनीहरूले मात्र प्राप्त गर्नेछन्। खुलामुखी (Open-ended) प्रकृतिको यो योजना भएकाले लाभांश पुनः लगानी (Reinvestment) गर्ने सुविधा पनि उपलब्ध रहेको छ। इच्छुक इकाईधनीहरूले कर तथा डिपी शुल्क कटौतीपछिको खुद लाभांश रकम सोही योजनाको समायोजित खुद सम्पत्ति मूल्य (NAV) मा पुनः लगानी गर्न सक्नेछन्।

पुनः लगानी योजनामा नाम दर्ता गराएका इकाईधनीहरूको हितग्राही (Demat) खातामा थप इकाईहरू स्वतः जम्मा गरिने व्यवस्था गरिएको छ। पुनः लगानीमा सहभागी नभएका इकाईधनीहरूको हकमा भने नगद लाभांश हितग्राही खातामा उल्लेख गरिएको बैंक खातामा सिधै जम्मा गरिने योजना व्यवस्थापकले जनाएको छ।

उल्लेखनीय रूपमा, यस योजनाले आर्थिक वर्ष २०८०/८१ का लागि ८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो। यस वर्ष भने लाभांश दर घटाएर ३ प्रतिशतमा सीमित गरिएको छ, जसले अघिल्लो वर्षको तुलनामा कम प्रतिफल वितरण भएको देखाउँछ।

प्रतिक्रिया दिनुहोस्