रश्मी प्रकरण : सीसीटीभीमा कैद तेस्रो पक्षको संलग्नता नदेखिएको प्रहरीको भनाइ
काठमााडौं, १० साउन । तारकेश्वर नगरपालिका–१ कालेबासे चुनीदेवीस्थित बालुवा प्रशोधन केन्द्र नजिकै कारभित्र जलेको अवस्थामा मृत फेला परेकी रश्मी रिजालको घटनामा प्रहरीले घटनास्थल आसपासको सीसीटीभी फुटेज फेला पारेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार फुटेजमा तारकेश्वर नगरपालिका–९ शुभकामना चोक बस्ने ४५ वर्षीया रिजाल अगाडिको चालक सिटबाट ओर्लिएर पछाडिको सिटमा गएर बसेको देखिन्छ। त्यसको केहीबेरपछि गाडीबाट धुवाँ निस्किएको दृश्य पनि सीसीटीभीमा कैद भएको छ।
रिजाल नक्सालस्थित सानिमा क्यापिटल लिमिटेडमा मर्चेन्ट हेडका रूपमा कार्यरत थिइन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले सीसीटीभी फुटेजमा कुनै शंकास्पद गतिविधि वा तेस्रो पक्षको उपस्थिति नदेखिएको बताए।
“सीसीटीभी फुटेज हेर्दा कुनै शंकास्पद घटना देखिँदैन। तेस्रो पक्षको उपस्थिति पनि देखिएको छैन,” एसपी भट्टराईले भने।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा घटनालाई शंकास्पद बनाउने कुनै तथ्य फेला नपरे पनि मृत्युको वास्तविक कारण भने पोस्टमार्टम तथा फरेन्सिक प्रतिवेदनपछि मात्रै स्पष्ट हुने छ।
रिजाल साउन ८ गते साँझ करिब ७ बजेदेखि सम्पर्कविहीन भएकी थिइन्। त्यसको भोलिपल्ट दिउँसो करिब १ बजे उनी प्रयोग गर्दै आएको बीएई ०४१० नम्बरको विद्युतीय (ईभी) कारभित्र जलेको अवस्थामा मृत फेला परेकी थिइन्।
पोस्टमार्टम प्रक्रिया सम्पन्न भएपछि आइतबार प्रहरीले उनको शव परिवारलाई जिम्मा दिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्