भारतीय बीमा कम्पनीमा एआईको प्रयोग तीव्र, दाबीदेखि ग्राहक सेवासम्म डिजिटल रूपान्तरण

काठमााडौं, १० साउन । भारतीय बीमा कम्पनीहरूले बीमा प्रक्रियालाई थप प्रभावकारी बनाउन आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग उल्लेखनीय रूपमा विस्तार गरेका छन्। कम्पनीहरूले अन्डराइटिङ, दाबी प्रशोधन, ग्राहक सेवा, धोखाधडी पहिचान तथा सञ्चालन दक्षता अभिवृद्धिका लागि एआईमा लगानी बढाएका हुन्।

कम्पनीहरूको वार्षिक प्रतिवेदनअनुसार परिचालन दक्षता बढाउने, उत्पादकता सुधार गर्ने र सेवा प्रदान गर्ने समय घटाउने उद्देश्यले एआई, मेसिन लर्निङ (एमएल) तथा डिप लर्निङ प्रविधिको प्रयोग तीव्र बनाइएको छ।

आईसीआईसीआई प्रुडेन्सियल लाइफले ग्राहक आकर्षित गर्ने, अन्डराइटिङ प्रक्रिया, बीमालेख जारी गर्ने तथा ग्राहक सेवा सुधार गर्न एआईको प्रयोग गरिरहेको जनाएको छ। कम्पनीका अनुसार वित्त वर्ष २०२६ मा क्रस–सेलिङ, एड्भाइजर एक्टिभेसन, प्रचार–प्रसारको लागत घटाउने, ग्राहक अनबोर्डिङ, धोखाधडी पहिचान, प्रिमियम सङ्कलन, गलत बिक्री नियन्त्रण तथा दाबी प्रशोधनलाई छिटो बनाउन एआईको उपयोग गरिएको छ।

कम्पनीले यस अवधिमा ९६.८ प्रतिशतभन्दा बढी ग्राहक सेवा डिजिटल सेल्फ–सर्भिस च्यानलमार्फत सम्पन्न भएको जनाएको छ।

एचडीएफसी लाइफले पनि इन्टरप्राइज–स्तरको जनरेटिभ एआई प्लेटफर्म विकास गरी क्लाउड र डाटामा आधारित सञ्चालन प्रणालीलाई प्राथमिकता दिएको जनाएको छ। कम्पनीका अनुसार एआईमा आधारित स्वचालनले सेवा सटीकता बढाउनुका साथै दाबी तथा सेवा प्रक्रियाको समय घटाएको छ।

सरकारी स्वामित्वको भारतीय जीवन बीमा निगम (एलआईसी)ले पनि ग्राहक सेवा विस्तारका लागि एआईको प्रयोग बढाएको छ। एलआईसीले परिपक्वता दाबीसम्बन्धी सूचना, राष्ट्रिय इलेक्ट्रोनिक फन्ड ट्रान्सफर (एनईएफटी) दर्ता तथा प्रिमियम भुक्तानी सम्झाउने सेवामा एआईमा आधारित भ्वाइस कम्युनिकेसन प्रणाली प्रयोग गरिरहेको जनाएको छ।

निर्जीवन बीमा कम्पनी आईसीआईसीआई लोम्बार्डले पनि बीमालेख जारी गर्ने, अन्डराइटिङ, दाबी व्यवस्थापन तथा ग्राहक सेवामा एआईको प्रयोग विस्तार गरेको जनाएको छ।

बीमा कम्पनीहरूले एआईमा आधारित प्रविधिको प्रयोग बढाउँदै ग्राहक अनुभव सुधार, सञ्चालन खर्च घटाउने तथा सेवा प्रवाहलाई थप छिटो, सुरक्षित र प्रभावकारी बनाउने रणनीति अपनाइरहेका छन्।
– एजेन्सी

प्रतिक्रिया दिनुहोस्