एआइएनद्वारा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अभिमुखीकरण, वित्तीय सुशासनमा जोड

काठमााडौं, १० साउन । अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको साझा सञ्जाल (एआइएन)ले आफ्ना सदस्य संस्थाका प्रतिनिधिका लागि सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ।

नेपाल सरकारले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को पाँचौँ संशोधनमार्फत गैरनाफामूलक क्षेत्रलाई समेत कानुनी दायराभित्र समेटेपछि आवश्यक नीतिगत स्पष्टता र कानुनी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको एआइएनले जनाएको छ।

कार्यक्रममा सरकारी अधिकारी तथा प्राविधिक विज्ञहरूले सम्पत्ति शुद्धीकरण, आतङ्ककारी गतिविधि तथा आमविनाशका हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारणसम्बन्धी कानुनी व्यवस्था, कार्यान्वयनको अवस्था र चुनौतीबारे जानकारी गराएका थिए।

एआइएनका अनुसार सामाजिक संस्थाहरूले कानुनी व्यवस्था र नियामकीय मापदण्ड प्रभावकारी रूपमा पालना गर्न तथा नेपाललाई अन्तर्राष्ट्रिय वित्तीय मापदण्डअनुरूप अघि बढाउन यस्ता कार्यक्रमले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

कार्यक्रमलाई सम्बोधन गर्दै एआइएनकी कोषाध्यक्ष सुजिता माथेमाले वित्तीय सुशासन कुनै एक संस्था वा निकायको मात्र नभई सबैको साझा जिम्मेवारी भएको बताइन्।

उनले नेपाल हाल फाइनान्सियल एक्शन टास्क फोर्स (एफएटीएफ) को ग्रे लिस्टमा रहेको उल्लेख गर्दै यसलाई चुनौती मात्र नभई वित्तीय प्रणालीलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुधार गर्ने अवसरका रूपमा लिनुपर्ने धारणा राखिन्।

ग्रे लिस्टिङले विदेशी लगानी, अन्तर्राष्ट्रिय बैंकिङ कारोबार, रेमिट्यान्स, विकास साझेदारी तथा नेपालको अन्तर्राष्ट्रिय छविमा समेत प्रभाव पार्न सक्ने उल्लेख गर्दै उनले वित्तीय पारदर्शिता र सुशासनलाई थप सुदृढ बनाउन सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको बताइन्।

उनका अनुसार सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्ककारी गतिविधिमा वित्तीय लगानी नियन्त्रण (एएमएल/सीएफटी) केवल कानुनी वा प्राविधिक विषय नभई आर्थिक स्थायित्व, लगानीकर्ताको विश्वास, सुशासन र राष्ट्रिय प्रतिष्ठासँग प्रत्यक्ष रूपमा जोडिएको विषय हो।

एआइएनले सदस्य संस्थाका कार्यकारी प्रमुख तथा विभागीय प्रमुखहरूलाई लक्षित गरी आयोजना गरेको कार्यक्रममा सरकारी निकाय, प्राविधिक विज्ञ तथा विभिन्न सरोकारवाला संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्