वर्षाले आठ प्रमुख राजमार्ग अवरुद्ध, विभिन्न स्थानमा यातायात प्रभावित
काठमााडौं, १० साउन । लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका आठ प्रमुख राजमार्गमा पहिरो, बाढी र सडक कटान हुँदा यातायात सेवा प्रभावित भएको छ।
नेपाल प्रहरीले आइतबार अपराह्न ४ बजेसम्मको विवरण सार्वजनिक गर्दै काभ्रेपलाञ्चोक, सिन्धुली, मकवानपुर, इलाम, सिन्धुपाल्चोक, दोलखा, रसुवा, मुगु र लमजुङका विभिन्न सडक खण्ड अवरुद्ध रहेको जनाएको छ।
प्रहरीका अनुसार वि.पी. राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–सिन्धुलीको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। उक्त सडकमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालन गर्न नपाइने व्यवस्था गरिएको छ भने बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म मात्र यातायात सञ्चालन हुनेछ।
यसैगरी मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको छ। सो सडकमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालन बन्द गरिएको प्रहरीले जनाएको छ।
इलामको मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ राजदुवाली क्षेत्रमा वर्षाका कारण सडक हिलाम्मे भएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। उक्त क्षेत्रमा वैकल्पिक सडक प्रयोग गर्न सकिने व्यवस्था रहेको प्रहरीले जनाएको छ।
सिन्धुपाल्चोकको अरनिको राजमार्गका दुई स्थानमा पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ। भोटेकोशी गाउँपालिका–४ जिरोकिलो क्षेत्रमा सडकमाथिबाट पहिरो खसेको छ भने भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित ईकु पहिरो क्षेत्रमा ढुङ्गा, माटो र लेदो खसेर सडक बन्द भएको हो।
दोलखाको लामासाँघु–रामेछाप राजमार्ग पनि तामाकोशी खोलाको बहाव बढेर सडक कटान गरेपछि अवरुद्ध भएको छ। तामाकोशी गाउँपालिका–५ किर्नेटार क्षेत्रमा सडक क्षति भएपछि यातायात प्रभावित भएको थियो। अहिले खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ।
रसुवाको पासाङ ल्हामु सडक खण्डअन्तर्गत उत्तरगया गाउँपालिका–५ खाल्टे क्षेत्रमा त्रिशूली नदीले सडक कटान गरेपछि त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी कच्ची सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
त्यस्तै, मुगुको नाग्म–गमगडी सडक खण्डअन्तर्गत छायानाथ रारा नगरपालिका–७ झ्यारी खोलामा माथिबाट ढुङ्गासहितको पहिरो खसेपछि सडक बन्द भएको छ।
लमजुङको बेँसीशहर–च्यामे (मनाङ) सडक खण्डअन्तर्गत मस्र्याङ्दी गाउँपालिका–४ श्रीचौर क्षेत्रमा शनिबार अपराह्न पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
प्रहरीले वर्षाका कारण प्रभावित सडकहरूमा सतर्कता अपनाउन र यात्रा गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन सर्वसाधारणलाई आग्रह गरेको छ।













प्रतिक्रिया दिनुहोस्